जिसस कास्कीमा गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा सुरु


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ।

बिहीवार र शुक्रबार दुई दिन सम्म चल्ने सो समिक्षाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे । उनले गैरसरकारी संस्थाहरू थप प्रभावकारी परिणामका लागि ठोष योजना सहित कार्य सम्पादन गर्न आग्रह गर्दै, हरेक तहका सरकारको सहयात्री र सहजकर्ता भएको उल्लेख गरे । उनले आफ्नो लक्ष्य सहित सामाजिक उत्तरदायित्वमा ध्यान पुर्याउन पनि आग्रह गरेका छन् । पारदर्शी र उत्तरदायी संस्थाहरू नै आफ्नो उद्देश्यमा सफल र दीर्घकालीन सेवा प्रबाहमा अब्बल हुने बताए ।

कतिपय संस्थाहरूले आन्तरिक नियन्त्रण प्रणालीमा जोड दिनुपर्ने देखिएको भन्दै प्रमुख पौडेलले जिल्लाभरी कार्यक्षेत्र हुने केही संस्थाहरूले जिल्ला परियोजना सल्लाहकार समितिको बैठकबाट आफ्ना निती कार्यक्रम र बजेट स्वीकृति लिएर संचालन नगरेको पाइएको हुँदा तत्काल सो गर्न आग्रह गरे । पौडेलले मानवीय बिकास सहित दिगो बिकासका लक्ष्य प्राप्तिमा गैरसरकारी संस्थाहरूको भुमिका उल्लेखनीय रहेको बताए । उनले कामदार र कर्मचारीहरूलाइ कानुन तथा नियम बमोजिम प्रदान गर्नुपर्ने सेवा सुबिधामा कमि नगर्न आग्रह गर्दै, विभिन्न दातृ निकायबाट प्राप्त अनुदान समेत उच्च सदुपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल ,पोखरा महानगर पालिकाका बाल कल्याण अधिकारी बेल कुमारी गुरुङ सहितले गैरसरकारी संस्थाका कार्य र भाबी भुमिका सम्बन्धमा प्रकाश पारेका थिए । बिहीबारको सो समिक्षामा राइट फर चिल्ड्रेन ,बाल कल्याण संस्था ,शक्ति समुह ,चिल्ड्रेन नेपाल ,कोपिला नेपाल ,दयाको सेवा नेपाल ,साना हातहरू नेपाल ,मानव अधिकारका लागि महिला एकल महिला समुह कास्की ,बाल हितकारी परियोजना ,थ्री एन्जल्स नेपाल ,बहिनी एडुकेयर फाउन्डेसन ,कोपिला चिल्ड्रेन होम,महिला सशक्तीकरण समाज ,एस ओ एस बाहिनी ,सहित पन्ध्र वटा संस्थाले आ (आफ्नो संस्थाको संचालित कार्यक्रमको विवरण सहित समिक्षा प्रस्तुत गरेको सूचना अधिकारी लक्षु शर्माले जानकारी दिए।

जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक एवं जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप प्रमुख सरिता माल र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।