काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित,बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने


     एभरेस्ट आवाज    
     असाेज ९ गते २०८३ मा प्रकाशित




तनहुँबाट मुग्लिङ हुँदै काठमाडौँ तथा भरतपुर जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ ।

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

सेवा तथा सहयोग आवश्यक परेमा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको १०० नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।यता उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ११ गतेसम्म राति यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले एक सूचना प्रकाशित गरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरदेखि कोरला नाकासम्म साँझ ६ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म रातिमा यातायात सञ्चालनमा रोक लगाएको जनाईएको छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बिहीबारदेखि चार दिन वर्षा र हिमपातको पूर्व सूचनालाई मध्यनजर गरी त्यस क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइएको छ । उनका अनुसार वर्षाका कारण कालीगण्डकी करिडोरको मुस्ताङ खण्डमा बाढी, पहिरो र नदी कटानको जोखिम रहेकाले सडक अवरुद्ध हुनसक्ने भएकाले सुरक्षित यात्राका लागि रात्रिकालीन समयमा यातायात सञ्चालन नगर्ने निर्णय भएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।