सन्देश श्रेष्ठ
पोखरा, असोज १२
कास्कीमा कांग्रेसको विशेष महाधिवेशन हुनुअघिसम्म अहिलेको संस्थापन पक्ष देउवाबिरुद्ध मोर्चा कस्थ्यो । देउवा पक्षलाई कमजोर बनाउन तत्कालीन संस्थापन ईतर पक्ष एक ढिक्का भएर लड्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । हिजो देउवा समूहबिरुद्ध एकढिक्का भएर मोर्चा कस्ने तत्कालीन संस्थापन ईतर पक्ष अहिले भने आफूआफू नै छुट्टाछुट्टै समूह बनाएर आपसमा उत्रिएका छन् । विशेष महाधिवेशनपछि देउवा समूह छुट्टिएसँगै हालको संस्थापन पक्षमा रहेका नेताहरु आफू अनुकुल पात्रलाई चुनाव जिताउन समूह बनाएर आपसमै प्रतिष्पर्धामा उत्रिन थालेका हुन् ।
अझ रोचक कुरा त के छ भने विगतमा देउवा समूहमा रहेका तर अहिले संस्थापन पक्षमा रहेकाहरुलाई टाउको उठाउन नदिने रणनीतिसमेत अप्नाएको पाइएको छ । खास गरेर नेपाली कांग्रेस गण्डकी प्रदेश सभापती शुक्रराज शर्मा, कास्की सभापती किशोरदत्त बराललगायतका नेताहरु विगतमा देउवा समूहमा रहेकाहरुबिरुद्ध अहिले पनि अनुदार देखिएका हुन् ।
कास्की कांग्रेसको नेतृत्वका लागि अहिले समूह समूह बनाएर चुनावी प्रतिष्पर्धामा जानेगरी तयारी भइरहेको छ । कास्की कांग्रेसको सभापतीमा मनोज गुरुङ, युवराज कुँवर, देवेन्द्र रानाभाट, सुदीपमोहन भट्टराई र नवीन सिग्देलले उम्मेदवारी दिने भन्दै तयारी गरेका छन् । सभापतीको दाबेदारी गरिरहेका मध्य गुरुङ विगतमा देउवा समूह, रानाभाट शेखर कोईराला समूहमा थिए भने बाँकी कुँवर, भट्टराई र सिग्देल गगन पक्षमा थिए ।
सभापतीको दाबी गरिरहेका गुरुङ हाल कास्की ३ को क्षेत्रीय सभापती तथा तरुण दल कास्कीका पूर्व अध्यक्ष हुन् । विशेष महाधिवेशनपश्चात देउवा समूह छाडेर संस्थापन पक्षमा खुलेका उनीबिरुद्ध पहिलेदेखि नै गगन निकट मानिने पूर्व क्षेत्रीय सभापती युवराज कुँवर पनि मैदानमा छन् । त्यसबाहेक विशेष महाधिवेशन अघिसम्म कोइराला समूहमा रहेका देवेन्द्र रानाभाट पनि सभापतीको दौडमा छन् । हाल जिल्ला सचिव रहेका रानाभाटले गगन समूहबाटै अघिल्लो चुनावमा सभापतीमा पराजित सुदीपमोहन भट्टराई र हाल जिल्ला सहसचिव नवीन सिग्देलसँग प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ । युवाले हस्तक्षेपकारी भूमिका खेलेर नेतृत्व लिनुपर्छ भन्ने निश्कर्षसहित सिग्देलले सहसचिवबाट सिधै अध्यक्षको दाबी गरिरहेको स्रोत बताउँछ । तर सभापतीको उम्मेदवार बन्नका लागि कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नुपर्ने प्रावधान छ । सोहि अनुसार क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि बन्न उनीहरुको दौडधुप छ ।
पहिले देउवासमूहबिरुद्ध लाग्नेहरु अहिले आपसमै भिड्दा पार्टी एकताबद्ध हुनुको सट्टा थप कमजोर बन्ने युवा नेता सुवर्ण केसी बताउँछन् । भन्छन्,‘कास्कीमा गुटगत लडाईं सकिनुको सट्टा झन् मौलायो । यसले पार्टीलाई कमजोर बनाउँछ ।’ विगतमा देउवा समूहमा रहेर क्याम्प परिवर्तन गरेकाहरुलाई पत्तासाफ बनाउन पहिलेदेखि नै गगन समूहमा रहेकाहरु सकृय रहेको उनको आरोप छ । ‘अहिले पनि हिजो को कसको पक्षमा थियो भनेर एक्ल्याउँदै पत्तासाफ गर्नु गलत हो, नेताहरु सच्चिनुपर्छ’–उनले भने ।
जिल्लामा देखिएको गुटगत प्रतिष्पर्धा क्षेत्र, प्रदेश क्षेत्रहुँदै स्थानिय तह र वडासम्मै देखिएको जानकारहरु बताउँछन् । सोमबार भएको क्षेत्रीय अधिवेशन अन्तर्गतको उम्मेदवारी दर्ताको समयसम्म कास्की १ मा सभापतीका लागि ३ जनाको उम्मेदवारी परेको छ । जसमा ओमप्रकाश गुरुङ, सरोज केसी र अप्सरा श्रेष्ठले उम्मेदवारी दिएका हुन् । यहाँ यसअघि रामचन्द्र पौडेल निकट रहेका कृष्ण केसीका छोरा सरोज केसीलाई जिताउन स्वयम् केसीसहित क्षेत्रीय सभापती राजेन्द्रमणी लामिछाने, सुदीपमोहन भट्टराईलगायत लागिपरेका छन् । उनकोबिरुद्ध ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठलाई पूर्व जिल्ला सभापती यज्ञबहादुर थापा, वर्तमान जिल्ला सभापती किशोरदत्त बराललगायतले उचालेका छन् ।
कास्की २ मा देवकृष्ण पराजुली, सुवास सिग्देल र नवीन बरालबीच प्रतिष्पर्धा हुने भएको छ । सिग्देललाई विगतमा देउवा समूहमा रहेर हाल क्याम्प परिवर्तन गरी संस्थापन पक्षमै बसेका गण्डकी प्रदेशका पूर्व मन्त्री तथा सांसद विन्दुकुमार थापालगायतको समर्थन छ । बराललाई शुक्रराज शर्मासहित पार्टीका केन्द्रीय प्रवक्ता देवराज चालिसे, माधव बास्तोलालगायतको समर्थन छ । पराजुलीलाई भने पूर्व क्षेत्रीय सभापती बिरेन्द्र बिजुक्छेको समर्थन छ । दुई समूहमा विभाजितलाई मिलाउनसक्ने पराजुली भएकाले अगाडि सारिएको उनी निकट एक नेता बताउँछन् । बाहिर खुल्न नचाहने उनले भने,‘दुबैलाई ब्यालेन्स गर्न ल्याइएको पात्र हो पराजुली ।’
कास्की ३ मा पनि सभापतीका लागि प्रकाश बराल र विष्णुबहादुर क्षेत्रीबीच प्रतिष्पर्धा हुने भएको छ । सिटौला समूह छाडेर संस्थापन पक्षमा लागेका क्षेत्रीले सभापतीका लागि उम्मेदवारी दिएपछि उनलाई पार्टी प्रवक्ता देवराज चालिसेलगायतले ब्याकअप दिएको बताईन्छ । उनलाई प्रदेश सभापती शुक्रराज शर्माको पनि बाहिरी समर्थन रहेको हल्ला छ । तर नाताले भाञ्जा पर्ने बराललाई शर्माले भित्रभित्रै सहयोग गर्ने स्रोतको दाबी छ । प्रदेश सभा सदस्यसमेत रहेका बराललाई युवराज कुँवर, मनोज गुरुङलगायतको पनि समर्थन रहेको एक नेताले बताए । हिजो र आजको परिस्थिति फरक छ,उनले भने,‘हिजो एउटै समूहमा भएर पनि अहिले छुट्टाछुट्टै समूह बनाएर प्रतिष्पर्धा भएको हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज १२ पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याण संस्थाले सोमबार…







