नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता सुरू भएको छ ।महाधिवेशनमा सहभागि कूल ७ हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्ने छन् ।
पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फाराम वितरण र उम्मेदवारी दर्ता प्रक्रिया जारी राखेको समितिका संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।मनोनयन दर्ता अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।मनोनयन पत्र लिन र भर्न प्रतिनिधिहरू तथा इच्छुक उम्मेदवारहरूको बाक्लो भिड समेत लागेको छ।मनोनयन दर्तापछिका सबै प्रक्रिया सम्पन्न भएपछि २२ असोज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ । कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाएको छ । सोमबार संशोधित विधान पारित गरी पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्याएको छ । कांग्रेस विधानको नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति सङ्ख्या चार पुगेको छ । महामन्त्रीको सङ्ख्या तीन पुर्याइएको छ । एक महिला महामन्त्री अनिवार्य गरिएको छ ।
त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ । आवश्यकताका आधारमा सहप्रवक्ताको सङ्ख्या थप हुने पार्टीले जनाएको छ ।कोषाध्यक्ष केन्द्रीय सदस्य मध्येबाट एक जना मनोनीत हुनेछन् ।महाधिवेशनमा समावेशीसहित ८० क्लस्टरबाट नयाँ कार्यसमिति चुनिने छ । संशोधित विधानमा सभापति, पदाधिकारी र केन्द्रीय सदस्यसम्मका ८० क्लस्टर छन् । यसैबिच सभापतिमा किशोरसिंह राठौरले उम्मेदवारी घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । कांग्रेसलाई एकताबद्ध बनाउने एजेण्डाका साथ आफूले सभापतिमा उम्मेदवारी घोषणा गरेको उनले पत्रकार सम्मेलनमा बताए । कांग्रेसको सभापतिमा गगन थापा स्वाभाविक उम्मेदवार रहेका छन् भने सोमबार मात्रै श्यामकृष्ण खड्कीले पनि उम्मेदवारी घोषणा गरेका थिए । प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् । डा.रिजालले पार्टीमा सबै विचार, समूह र पुस्तालाई जोडेर अघि बढ्न आफूलाई जिम्मेवारी दिन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन्।नेता मधु आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिने भएका छन् । आचार्य महामन्त्रीको उम्मेद्वार हुने चर्चा थियो ।
महाधिवेशनमा कास्कीबाट पनि केन्द्रीय समितिको पदाधिकारी र सदस्य पदमा उमेदवारी घोषणा गर्ने क्रम जारी छ । महाधिवेशनका निम्ति उनीहरूले सामाजिक सञ्जालबाट उमेदवारी घोषणा गरेका छन् । कास्कीबाट उपसभापति पदमा निवर्तमान सहमहामन्त्री जीवन परियार र प्रवक्ता रहेका देवराज चालिसेले दावी गरेका छन् । त्यसैगरी सहमहामन्त्री खुलातर्फको क्लस्टरमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले उमेदवारी दिने तयारी गरेका छन् । कास्कीबाट केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, युवा उद्यमी कास्कीका किरण केसी, लक्ष्मी पाण्डे, नम्रता बराल, सरिता तिमिल्सिना पंगेनी, मीनबहादुर गुरुङ र युवा क्लस्टरमा सौगात थापाले उमेदवारी दिने तयारी गरेका छन् ।
मनोनयन दर्ताको अन्तिम समयसम्म अन्य आकांक्षी पनि बढ्न सक्ने देखिएको छ ।महाधिवेशनमा कास्कीबाट १०९ जना महाधिवेशन प्रतिनिधि सहभागी छन् । जसमा कास्की क्षेत्र नं. १ बाट ३१ जना, २ मा ३८ जना र क्षेत्र नं. ३ बाट ४० जना सहभागी रहेको निर्वाचन समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


वरिष्ठ खेल पत्रकार नवीन अर्याल जापानमा सम्मानित भएका छन् । टोकियाको सिनोकोबुस्थित…







