कालो बादलको छायाँ कहिले पर्छ थाहा हुँदैन तर पर्दा जीवनभरको खुसी नै छोप्न सक्छ ।
यो भनाइ मैले धेरैपटक सुनेकी थिएँ । तर बाढी प्रभावित परिवारहरूसम्म पुगेपछि मात्र यसको वास्तविक अर्थ बुझ्न पाएँ ।
केही समयअघिसम्म आफ्नै घरमा हाँस्दैखेल्दै आफ्नो मेहेनतले बनाएको संसारमा रमाइरहेका मानिसहरू अचानक बाढीको चपेटामा परेर घरबार सामान र वर्षौँको मेहनत गुमाउन बाध्य भएका थिए ।
उनीहरूको अवस्था आफ्नै आँखाले देख्दा मन निकै भारी भयो ।
त्याे घटना देखेपछि मैले जीवनमा दुःख र विपत्ति कहिले कति बेला आउँछ भनेर कसैलाई थाहा हुँदैन भन्ने कुराकाे महसुस गरेँ ।
बाढीले विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको खबर पाएपछि मेरो परिवारले सकेको सहयोग गर्ने निर्णय गर्याे । हामीले ग्यास चुलो कपडा टिसर्ट पाइन्ट थर्मस तथा अन्य आवश्यक सामग्रीहरू जम्मा गर्यौँ । ती सामग्री लिएर बाढी प्रभावित परिवारसम्म पुग्ने हाम्रो यात्रा सुरु भयो ।
सामान जम्मा गर्दा नै मनमा एउटा कुरा आइरहेको थियो ।
हामीले दिएको सानो सामान पनि अहिले कसैका लागि धेरै आवश्यक हुन सक्छ । त्यसबेला मैले आफूले सकेको सहयोग सानो भए पनि त्यसको महत्त्व ठूलो हुन सक्छ भन्ने सिकेँ ।
हाम्रो यात्रा गोरखा धादिङ त्रिशूली नुवाकोट हुँदै रसुवातर्फ अघि बढ्यो ।
बाटोमा देखिएका भत्किएका घरहरू क्षतिग्रस्त संरचनाहरू र बाढीले छोडेको विनाश देख्दा मनमा धेरै कुरा खेलिरहेका थिए ।
केही दिनअघिसम्म यही घरमा परिवारहरू खुसीसाथ बसेका थिए होला । आज त्यही घरको अवस्था देख्दा मन दुख्यो ।
समाचारमा बाढीको बारेमा सुन्दा र आफ्नै आँखाले त्यसको असर देख्दा कति फरक हुँदो रहेछ भन्ने त्यही यात्रामा महसुस गरेँ ।
प्रभावित बस्तीमा पुगेपछि पीडा अझ नजिकबाट देख्न पाएँ । कतिपय परिवारले आफ्नो घर गुमाएका थिए । कतिपयले खेतीपाती र रोजगारी गुमाएका थिए ।
वर्षौँ लगाएर जम्मा गरेको सामान केही समयमै बगेर गएपछि उनीहरू फेरि शून्यबाट जीवन सुरु गर्नुपर्ने अवस्थामा पुगेका थिए । खानेकुरा कपडा र दैनिक आवश्यकताका सामानको अभाव थियो ।
यति ठूलो दुःखका बीच पनि उनीहरू आफ्ना परिवारलाई सम्हाल्दै जीवनलाई फेरि सामान्य बनाउने प्रयास गरिरहेका थिए ।
उनीहरूको सङ्घर्ष देखेर मैले कठिन परिस्थिति आए पनि हिम्मत हार्नु हुँदैन भन्ने कुरा सिकेँ ।
पीडित परिवारसँग कुरा गर्दा उनीहरूले सुनाएका दुःखका कुराले मन छोयो । कसैको घर बगेको थियो । कसैको सामान हराएको थियो । कसैले आफ्नो पुरानो जीवन सम्झिरहेका थिए । उनीहरूको आँखामा आँसु देखिन्थ्यो । तर त्यही आँखामा फेरि नयाँ सुरुवात गर्ने आशा पनि देखिन्थ्यो ।
उनीहरूसँग कुरा गर्दा मैले एउटा महत्त्वपूर्ण कुरा सिकेँ । कहिलेकाहीँ दुःखमा परेको मानिसको कुरा केही समय बसेर सुनिदिनु पनि ठूलो सहयोग हुँदो रहेछ ।
हामीले सकेको राहत सामग्री विभिन्न परिवारलाई वितरण गर्यौँ । सामग्री पाउँदा उनीहरूको अनुहारमा आएको सानो मुस्कान देखेर हामी पनि खुसी भयौँ ।
हाम्रो सहयोग धेरै ठूलो थिएन तर त्यो समयमा उनीहरूको साथमा उभिन पाउनु नै हाम्रो लागि ठूलो कुरा थियो। उनीहरूको मुस्कानले मलाई सहयोगको मूल्य त्यसको आकारमा होइन त्यसले ल्याउने आशामा हुन्छ भन्ने महसुस गरायो ।
यात्राका क्रममा थकान पनि भयो । बाटो पनि सजिलो थिएन तर प्रभावित परिवारहरूलाई सम्झँदा हाम्रो थकान त्यति ठूलो लागेन । उनीहरूले भोगेको दुःख देखेपछि हामीले आफ्ना जीवनमा भएका साना साना कुराको पनि कदर गर्नुपर्छ भन्ने महसुस भयो । घरमा सुरक्षित बस्न पाउनु परिवारसँग खुसी भएर बस्न पाउनु र दैनिक आवश्यकताका सामान सहजै पाउन पाउनु पनि ठूलो कुरा रहेछ।
यो यात्राले मलाई अर्को कुरा पनि सिकायो । दुःखमा परेको मानिसलाई सहयोग गर्न सधैँ ठूलो कुरा गर्नुपर्दैन । आफूले सकेको सानो सहयोगले पनि कसैको मनमा आशा जगाउन सक्छ ।
त्यसैले भविष्यमा पनि आफूले सकेको ठाउँमा अरूको साथ बन्नुपर्छ भन्ने भावना मभित्र अझ बलियो भयो ।
बाढीपीडित परिवारहरूको दुःख र सङ्घर्ष आफ्नै आँखाले देखेपछि जीवनलाई हेर्ने मेरो सोच पनि केही परिवर्तन भयो । उनीहरूले धेरै कुरा गुमाए पनि हिम्मत गुमाएका थिएनन् । उनीहरू फेरि आफ्नो जीवन सुरु गर्ने प्रयास गरिरहेका थिए । उनीहरूबाट मैले आशा राख्न र कठिन समयमा पनि अगाडि बढिरहन सिकेँ ।
मेरो लागि यो यात्रा केवल राहत वितरण गर्ने यात्रा थिएन । यो मेरो जीवनको एउटा सम्झनालायक अनुभव बन्यो। यस यात्राले मलाई मानवता भनेको अरूको दुःख बुझ्नु मात्र होइन कठिन समयमा सकेको साथ दिनु पनि हो भन्ने सिकायो ।
आज पनि ती परिवारका अनुहारहरू सम्झँदा मन भावुक हुन्छ । उनीहरूको सबै दुःख हटाउन नसके पनि कठिन समयमा केही सहयोग गर्न सकेकोमा मनमा सन्तुष्टि हुन्छ ।
किनकि कहिलेकाहीँ हाम्रो सानो सहयोग नै कसैका लागि ठूलो आशा बन्न सक्छ ।
(अनुश्री आचार्य डियरवाक पाेखरा स्कुल (पाेखरा १० रामघाट) कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । )
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज २० फेवाताल संसारकै सुन्दर तालमध्यको एक हो । माछापुच्छ«े…







