सन्देश श्रेष्ठ
पोखरा, असोज २३
कास्कीको पोखरामा स्कुल बस दुर्घटनाहुँदा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको कालिका माध्यमिक विद्यालयको ग.२ ख. १४१७ नम्बरको स्कुल बस ओख्लेभीरमा दुर्घटनाहुँदा ३ छात्रा, १ छात्र र एक जना प्रौढ गरेर कुल ५ जनाको मृत्यु भएको हो । मृत्यु हुने सबैको पहिचान खुलेको छ । मृतकहरुमा १५ वर्षिया ममता तिवारी, १५ वर्षिया शुभेक्षा तिवारी र १४ वर्षिया रुमिका नेपाली, १३ वर्षिय असीम कँडेल र ६५ वर्षिय बाबुराम तिवारीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । मृतकमध्ये ६५ वर्षिय तिवारी विद्यालयको बसमा लिफ्ट मागेर चढेका यात्रु भएको बताइएको छ ।
दुर्घटना स्थलबाट बेहोस् अवस्थामा उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) ल्याइए पनि उनीहरुलाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।
दुर्घटनामा अन्य १५ जना घाईते भएका छन् । घाईते भएकामध्ये एक विद्यार्थीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । टाउको र ढाडमा चोट लागेकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको अस्पतालका आकस्मिक विभागका चिकित्सक सन्तोष बानियाले जानकारी दिए ।
अन्य घाईतेहरुमा पोखरा–२८ कालिकाका आकृति बुढाथोकी, १४ वर्षिया स्नेहा गौतम, १३ वर्षिया सोनिया तिवारी र १३ वर्षिय अंकित पराजुली रहेको छन् । त्यस्तै, मादी गाउँपालिका–१२ का १५ वर्षिया स्मृती खत्री, १६ वर्षिया स्नेहा तिवारी, १४ वर्षिया आकृती बुढाथोकी, १५ वर्षिया मेरिना तिवारी, १४ वर्षिया सुप्रिया आचार्य, १६ वर्षिय यमन मगर घाईते छन् । घाईते बसका चालक पोखरा–१५ का ५७ वर्षिय तुलबहादुर गुरुङ पनि घाईते छन् । घाईते सबै विद्यार्थीको टाउकोमा चोट लागेको छ भने चालक गुरुङको छाती र ढाडमा चोट लागेको उनले बताए ।
यसैगरी, पोखरा–२८ की १६ वर्षिया सृष्टि तिवारी, १६ वर्षिय शिसन थापा मगर र १६ वर्षिय नै सौगात तिमिल्सिना पनि घाईते छन् । उनीहरुको टाउको, ढाड र हातमा चोट लागेको तर बोल्नसक्ने अवस्थामा रहेको चिकित्सक बानियाले जानकारी दिए । ‘केहि घाईतेहरुको अवस्था मध्यम छ भने केहि सामान्य पनि छन्’–उनले भने ।
दुर्घटनापछि शुक्रबार दिनभरी नै अस्पतालमा मृतक तथा घाईतेका आफन्तको भीड लागेको थियो । भावविह्वल अवस्थामा रहेका उनीहरुले घटनाको निस्पक्ष छानविन गर्न माग गरेका छन् ।
घटनाको कारण खुलिसकेको छैन । यद्वपी गाडी अन्त्यन्त पुरानो अवस्थामा रहेकाले प्राविधिक समस्याका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । स्कुल बस भनिए पनि बसमा पहेंलो रङ नपोतिएको देखिएको छ । पोखरा–बेगनास चल्ने बसलाई नै स्कुल बसको रुपमा प्रयोग गरेको पाइएको छ । चालक घाईते भएकाले दुर्घटनाको यकीन कारण खुल्न नसकेको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए । उनले भने,‘चालक घाईते भई बोल्न सक्ने अवस्था छैन, अनुसन्धानपछि खुल्ला दुर्घटनाको कारण ।’
घटनापश्चात पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीसहितको टोलीले घटनास्थलको स्थलगत अवलोकन गर्नुका साथै घाईते तथा मृतकका आफन्त भेटेका थिए ।
महानगरले बनायो ५ सदस्यीय छानविन समिति
यसैबीच, पोखरा महानगरपालिकाले स्कुल बस दुर्घटनाको छानविनका लागि बरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठीत समितिको सदस्यहरुमा मेकानिकल ईञ्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक प्रहरी सहायक निरीक्षक अमृत भट्टराई रहेका छन् ।
समितिलाई घटनाको कारणसहित सत्यतथ्य छानविन गरि प्रतिवेदन बुझाउन भनिएको छ । विद्यालय बसको अवस्था, विद्यार्थीको सुरक्षित आवागमनसँगै आगामी दिनमा अप्नाउनुपर्ने सावधानीका बारेमासमेत सुझाव पेश गर्न छानविन समितिलाई निर्देशन दिइएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कालिका बहुमुखी क्याम्पसमा अन्तर संकाय छात्र तथा छात्रा फइभ ए साइड फुटबल…







