टिओबी र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित : बराल


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २७

नेपाली कांग्रेस देउवा समूहका नेता गुरु बरालले टिबेटियन ओरिजिनल ब्लड (टिओबी) र गगन कांग्रेस एउटै शक्ति केन्द्रबाट सञ्चालित भएको गम्भीर आरोप लगाएका छन् । देउवा कांग्रेसको गण्डकी अधिवेशनबारे जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बरालले टिओबी र गगन कांग्रेस दुबै स्क्रिप्टेड प्लान सफल बनाउन अन्तर्राष्ट्रिय शक्ति केन्द्रबाट परिचालित भएको आरोप लगाएका हुन् । ‘यिनीहरु राष्ट्रलाई विध्वंश गर्नका लागि स्क्रिप्टेड प्लान नेपालमा लागु गर्नका लागि परिचालित भए । यो दुर्भाग्यपूर्ण हो’–उनले भने ।

नेता बरालले अहिले पनि गगन कांग्रेस सरकारको रक्षक, सहयात्री र सहयोगीजस्तो बनेको टिप्पणी गरे । देशमा वितण्डा मच्चिदा, राष्ट्रियता र सार्वभौमसत्तामाथि धावा बोल्दासमेत गगन कांग्रेस चुप लाग्नु त्यसैको परिणाम भएको उनको दाबी छ । सत्ताधारी र गगन कांग्रेसले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई क्रान्ति दिवस वा बिजयोत्सवका रुपमा मनाईरहेका छन्,उनले भने,‘तर त्यो कुनै क्रान्ति थिएन, बरु विध्वंश र वितण्डा मात्र थियो ।’ उनले टिओबीले देउवालाई नहटाई देशमा चुनाव गर्न सकिन्न भन्ने निश्कर्षका साथ गगन पक्षलाई प्रयोग गरेर विशेष महाधिवेशनको नाममा हटाएको आरोप लगाए । देउवालाई सभापतीबाट हटाउँदा कांग्रेससँगै प्रजातन्त्र, लोकतन्त्र र देश पनि कमजोर बनेको उनको दाबी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।