सन्देश श्रेष्ठ
पोखरा, मंसिर ४
प्रदेश निर्वाचन कार्यालय गण्डकीले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष निर्वाचन आयोगको २० औं प्रतिवेदन पेस गरेको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकीले पछिल्लो निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि निर्वाचन आयोगको प्रतिवेदन प्रदेश प्रमुख भट्टसमक्ष पेस गरेको हो । शुक्रबार प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख जीवन ज्ञवालीले सो प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाए ।
नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम निर्वाचन कार्यालयले प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगको प्रतिवेदन बुझाउनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान अनुसार आर्थिक वर्ष २०८२÷८३ को प्रतिवेदन पेस भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
२०८२ साल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र २०८१ माघ ११ गतेको राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचन सम्पन्न भएको झण्डै ९ महिनापछि बुझाइएको सो प्रतिवेदनको सारांशसमेत प्रदेश प्रमुख भट्टलाई प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले ब्रिफिङ गरेका थिए ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले स्थानीय तह निर्वाचनको तयारीमा जुटेको आयोगले यस सम्बन्धित कामकारबाही द्रुत गतिमा अघि बढाएको विश्वास व्यक्त गरे । मुलुकको शासन सञ्चालनको आधार तयार गर्ने महत्वपूर्ण पक्ष निर्वाचन आयोग भएको बताउँदै उनले भने,‘निर्वाचन आयोगको जिम्मेवारी महत्वपूर्ण छ । जनप्रतिनिधि निर्वाचित गर्ने जिम्मेवारी सानो होइन ।’
प्रदेश प्रमुख भट्टले निर्वाचन आयोगका काम कारबाही बढी सचेततापूर्वक, गम्भिरतापूर्वक हुनुपर्ने बताए । निर्वाचन निस्पक्ष र स्वतन्त्र गर्ने जिम्मेवारी आयोगको भएको बताउँदै उनले भने,‘धाँधलीरहित ढंगले निष्पक्षपूर्वक निर्वाचन गर्नु, सुरक्षित तबरले मतपेटिका मतगणनास्थल पु¥याउनु, मत गणना गरी नतिजा सार्वजनिक गर्ने जस्ता काम पक्षपातरहित हुनुपर्नेमा आयोगको विशेष ध्यान रहनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।’
प्रदेश निर्वाचन अधिकारी ज्ञवालीले आगामी स्थानीय तह निर्वाचनका लागि आयोग तयारीमा जुटिसकेको जानकारी गराए । उनले भने,‘आयोग आगामी स्थानिय तहको निर्वाचनमा जुटिसकेको छ । सबैको सहयोगमा आगामी निर्वाचन पनि स्वतन्त्र र निस्पक्ष ढंगले सम्पन्न गराउन कुनै कसुर बाँकी राखिने छैन ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रतिनिधिसभाका…







