आहा ! रारा गोल्डकप चैत तेश्रो सातादेखि हुने


     एभरेस्ट आवाज    
     माघ १७ गते २०७७ मा प्रकाशित




सहारा क्लव पोखराले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को जोखिम मोल्दै आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्वास्थ्य सचेतता अप्नाएर कोरोनाको जोखिम कम गर्दै प्रतियोगिता गर्न लागेको आयोजक सहारा क्लव पोखराले जनाएको छ । प्रतियोगिता यस वर्ष चैत १७ गतेदेखि २८ गतेसम्म आयोजना गर्ने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगिता आयोजना गर्न अखिल नेपाल फुटवस संघ –एन्फा)ले अनुमति दिइसकेकाले प्रतियोगिताको तयारी शुरु गरेको उनले बताए ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गरौं’ भन्ने उद्धेश्यका साथ हुने प्रतियोगितामा १२ टीम सहभागि हुने क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा विदेशी टीमसहित नेपालका ए डिभिजनका क्लवहरु, मोफसलका टीमहरु र आयोजक सहारा क्लव सहभागि हुने उनले बताए ।

प्रतियोगिता अन्तर्गतका खेलहरु दर्शकले प्रत्यक्ष हेर्न पाउनेछन् । तर रंगशालाको दर्शक प्याराफिटको क्षमताको आधा दर्शक मात्र राखिने क्लवका अध्यक्ष थापाले जानकारी दिए । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै प्रत्येक सिटमा दर्शक नराखी प्रत्येक मान्छेपछि १÷१ सिट खाली राखिने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न १ करोड १ लाख ८१ हजार खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताबाट १ करोड ३० लाख १ हजार संकलन गरेर २८ लाख २० हजार बचत गर्ने लक्ष्य लिइएको क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

आयोजकले प्रतियोगिताको बिजेता र उपबिजेता तथा विधागत पुरस्कारको राशी घोषणा गरेको छैन । कोरोनाका कारण प्रायोजक कति हुन्छन् र कति संकलन हुन्छ भनेर अनुमान गर्न गाह्रो भएकाले पुरस्कारको राशी सार्वजनिक गर्न नसकिएको क्लवका अध्यक्ष केशवबहादुर थापाले बताए । २०५८ सालमा क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिताको यस वर्षको संस्करणलाई पनि हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! र रारा चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ ।

प्रतियोगिताबाट बचत भएको रकम प्रतियोगिता आयोजक सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीमा खर्च गरिने जनाइएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ दोबिल्लामा रहेको सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना असहायः बालकहरु आश्रित छन् । उनीहरुलाई शिक्षा, दीक्षा, खेलकुद प्रशिक्षणलगायत निःशुल्क रुपमा गरिदै आएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।