मादीको केन्द्र बेतेनीमा सार्ने निर्णयबिरुद्ध स्थानिय, गा.पा. कार्यालयमा गरे तालाबन्दी


     एभरेस्ट आवाज    
     माघ २० गते २०७७ मा प्रकाशित




तालाबन्दी गर्दै स्थानिय

कास्कीको मादी गाउँपालिकाको केन्द्र षणयन्त्रपूर्वक बेतेनीमा सार्ने निर्णय भएको भन्दै असन्तुष्ट पक्षले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानिय स्वायत्त शासन ऐन र राजनीतिक सहमति विपरित मादीको केन्द्र मादी–३ याङ्जाकोटबाट बेतेनीमा सार्ने निर्णय गरेको भन्दै स्थानिय कांग्रेस नेता तथा स्थानिय संघर्ष समितिका संयोजक नारायण गुरुङको नेतृत्वको एक समूहले मादी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

मादी गाउँपालिकाको छैटौं साधारण सभाले मादीको केन्द्र वडा नम्बर ४ र ५ को मादी करिडोर छेउपर्ने बेतेनी, वडा नम्बर ३ स्थित याञ्जाकोट देउराली, वडा नम्बर ४ को तारकाङस्थित माजडी र साविक वडा नम्बर ३ स्थित याङ्जाकोटलाई बनाउन सिफारिस गर्ने सहमति भएपनि पालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम)ले प्रदेश सरकार र संघ सरकारमा पठाउँदा वेत्याहनीलाई केन्द्र बनाउने निर्णय भएको भनेर गलत तरिका अप्नाएकाले विरोध स्वरुप तालाबन्दी गर्नुपरेको संघर्ष समितिका संयोजक नारायण गुरुङले बताए । गाउँसभामा चारै विकल्पलाई खुल्ला छलफल र सहमतिबाट टुंगो लगाउने भनिएपनि अहिले आएर षडयन्त्रपूर्वक बेतेनीमा केन्द्र सार्न खोजिएको उनीहरुको आरोप छ ।

स्थानिय स्वायत्त शासन अनुसार पालिकाको केन्द्र सार्न कित सर्वसम्मत निर्णय गर्नुपर्ने हुन्छ यात दुई तिहाई बहुमतबाट पारित गर्नुपर्ने हुन्छ । त्यसरी पारित गरेको निर्णय प्रदेश सभा र संघीय सरकारलाई सिफारिस गर्नुपर्ने प्रावधान रहेको छ । गाउँपालिका अध्यक्षसहित नेकपाको बर्चस्व रहेको पालिकाको गत पुसमा सम्पन्न साधारण सभामा वेत्याहनीमै केन्द्र बनाउने प्रस्ताव आएको थियो । तर नेकपाको पक्षमा दुई तिहाई बहुमत १ मतले नपुग्दा केन्द्रका लागि ४ विकल्प सारिएको थियो । उक्त चार प्रस्तावमा पछि छलफल गरेर सहमति गर्ने यसअघीको सहमति अनुसार पुनः सहमतिको प्रयास गर्नुपर्ने असन्तुष्ट पक्षको माग छ । तर अहिले छलकपट गरेर साधारणसभाको निर्णय भनेर गलत निर्णय सिफारिस भएको उनीहरुको आरोप छ ।

संयोजक गुरुङले गण्डकी प्रदेश सरकारले पालिकाको सिफारिस अनुसार भन्दै बेतेनीलाई केन्द्र बनाउन संघीय सरकारलाई सिफारिस गरेकोप्रति आपत्ति जनाए । साथै प्रदेश सरकारको निर्णयबारे जानकारी माग्दासमेत निर्णय दिन अस्वीकार गरेको उनको भनाई छ ।

तालाबन्दी गर्ने समूह याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा छ । आफूहरु याङ्जाकोटमा केन्द्र हुनुपर्ने पक्षमा भएपनि अहिले केन्द्र कहाँ राख्ने विवाद भन्दापनि केन्द्र सार्ने निर्णय प्रक्रियामा आफूहरुको असहमति रहेको आन्दोलनका नेतृत्वकर्ता नारायण गुरुङ बताउँछन् । केन्द्र बेतेनीमै सार्ने हो भने प्रस्तावपनि त्यहि अनुसार आउनुपथ्र्यो,उनले भने,‘प्रस्तावचाहिं एउटा आउने, अनि निर्णयचाहिं अर्कै भयो भनेर गलत सिफारिस गर्नु नाजायज छ, यो गलत हो ।’ उनले निर्णय नसच्चिएसम्म तालाबन्दी नखुलाउने अडान व्यक्त गरे ।

यसैबीच, संघर्षमा उत्रिएका असन्तुष्ट पक्षले सर्वोच्च अदलतमा मुद्धासमेत दायर गरेको छ । पालिकाको केन्द्र बेतेनीमा सार्ने मादी गाउँपालिकाका अध्यक्ष र कार्यकारी अधिकृतलाई विपक्षी बनाएर असन्तुष्ट समूहले रिट दायर गरेको हो ।

गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ (श्याम) भने गाउँसभाको निर्णय अनुसारै प्रदेश र संघीय सरकारमा सिफारिस गरेको दाबी गर्छन् । प्राथमिकता तोकेर ४ वटा विकल्प तोकिएको थियो,उनले भने,‘प्राथमिकताको पहिलो नम्बरमा बेतेनी नै भन्ने छ । ४ विकल्प मध्ये कुनै १ बनाउने विषयमा सबैको सहमति थियो । त्यसबेला ताली ठोक्ने अनि अहिले प्रदेश सरकारको निर्णय आएपछि विरोध गर्ने ? यो गलत हो ।’ उनले गाउँसभाको निर्णय भन्दा तलमाथि नहुने र नगर्ने अडान राखे । उनले संघीय सरकारको निर्णय नआइसकेको अवस्थामा तालाबन्दी गर्नु हतास मानसिकताको उपज भएको टिप्पणी गरे । ‘बिना जानकारी एक हुल आएर तालाबन्दी गरे, म नभएको बेला बिना सूचना, बिना ज्ञापनपत्र अनधिकृत रुपमा तालाबन्दी गरियो’–उनले भने । प्रमुख गुरुङले बिना कारण ताला लगाउँदैमा जनताको काम नरोकिने बताए । जनताको मतबाट निर्वाचित हामीले जनताको काम रोक्न मिल्दैन,उनले भने,‘ताला लगायो भन्दैमा जनताको काम ठप्प पार्ने कुरा हुँदैन ।’ उनले असन्तुष्ट पक्षसँग छलफल गर्ने नभए अन्य विकल्प अप्नाएर भएपनि ताला खोल्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।