टाइगर कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

पोखरामा हुने टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

प्रतियोगिता माघ २७ गते मंगलबारदेखि शुरु भएर फागुन १ गतेसम्म जारी रहने आयोजकले जनाएको छ।

महिलातर्फ सशस्त्र प्रहरीबल काठमाण्डौ, त्रिभुवन आर्मी क्लव, काठमाण्डौं, नेपाल प्रहरी काठमाण्डौ र न्यू डायमण्डको सहभागिता रहने जनाइएको छ । त्यस्तै, पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव, नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, नेपाल प्रहरीको नेपाल पुलिस कलव र गण्डकी प्रदेशको एक टीमले सहभागिता जनाउने ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए।

राउण्ड रोविन लिगको आधारमा सञ्चालन हुने प्रतियोगितामा ३–० को सोझो सेट वा ३÷१ सेटको बिजेताले ३ अंक प्राप्त गर्नेछ भने ३÷२ सेटको बिजेताले ३ र पराजित टिमले १ अंक प्राप्त गर्ने अध्यक्ष शर्माले बताए।

प्रतियोगितामा उपाधी विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार, द्वितीयले ७५ हजार तथा तृतियले नगद २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०/२० हजार प्राप्त गर्नेछन्।

त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने ग्रुपका सचिव प्रकाश बरालले जानकारी दिए।

प्रतियोगिता सम्पन्न गर्न कुल २४ लाख ६० हजार खर्च हुने अनुमान गरिएको जनाइएको उक्त प्रतियोगितामा ३० लाख संकलन गरी ६ लाख बचत हुने ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले बताए। प्रतियोगिताबाट बचेको रकम सामाजिक, खेल क्षेत्र र खेलाडीको सहयोगका लागि खर्च गरिने उनले बताए। प्रतियोगितामा सहभागि खेलाडीकोसमेत बीमा गरिने उनले बताए।

प्रतियोगितामा पहिलो चरणको खेलका लागि टिकट दर १ सय तोकिएको छ भने सेमीफाइनल र फाइनल खेलका लागि २ सय तोकिएको छ । प्रतियोगितामा ज्येष्ठ नागरिकलाई निःशुल्क हेर्ने व्यवस्था गरिने अध्यक्ष शर्माले बताए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।