अ.न.स.अ.करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको माग : हामीलाईपनि सामाजिक सुरक्षा कोषमा लगियोस्


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकी प्रदेशले सामाजिक सुरक्षा कोषमा आफूहरुलाईपनि सहभागि गराउन माग गरेको छ । संघले आईतबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाउँदै आफूहरुलाईपनि अन्य कर्मचारी सरह सामाजिक सुरक्षा कोषमा सहभागि गराउन माग गरेको हो । कोषमा जम्मा गरिने रकम आफूहरुको तलव भत्ताबाट कटौती नगरी सरकारको तर्फबाट जम्मा गरिदिनुपर्ने उनीहरुको माग छ ।

संघले राज्य कोषबाट तलब खाइरहेका अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरुलाई उमेरको हदबन्दी नलाग्नेगरी लोकसेवा खुल्ला गराई एक पटकका लागि स्थायी गर्नुपर्ने, निजामति कर्मचारीहरुको समायोजन तथा पदस्थापन गर्दा आफूहरुलाई नहटाई पदस्थापन तथा समायोजन गर्न तथा केहि कार्यालयमा अझैपनि सरकारले तोके अनुसारको तलब नपाएकाले तत्काल सरकारले तोके अनुसारको तलब भत्ता दिन माग गरेको छ ।

त्यस्तै संघले अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरुको रोजागारीको ज्ञारेन्टी गर्दै सर्वोच्च अदालतले २०७३ साल चैत १९ गते गरेको फैसला अनुसार उपदान र औषधी उपचार खर्च कानून बनाई दिलाई दिन माग गरेको छ । साथै संघले सरकारी कार्यालयहरुमा अहिलेपनि ठेकेदारीबाट कर्मचारी भर्ना गर्ने प्रथा रहेको भन्दै सो प्रथा तत्काल अन्त्य गरी आवश्यक कर्मचारी सरकारी कार्यालयबाटै नियुक्ती दिने व्यवस्था मिलाउन तथा कार्यालय समय भन्दा बढी काम गरेमा ओभरटाइम समयमा गणना गरेर पारिश्रमिक दिन माग गरेको छ ।

संघका गण्डकी प्रदेश सह–ईञ्चार्ज गुण्डा श्रेष्ठ (मीन) र हरिप्रसाद पौड्यालले मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले संघले राखेको मागप्रति आफू सकारात्मक रहेको भन्दै प्रदेश सरकारले गर्नसक्ने निर्णय र सुविधा तत्काल गरेर लागु गर्ने प्रतिबद्धता जनाए । उनले सामाजिक सुरक्षा कोषमा लैजाने, ओभरटाइम काम गरेबापतको पारिश्रमिकलगायतका सुविधा तत्काल लागु हुने बताए । अन्य केहि मागहरुबारे भने बुझेर निर्णय गर्ने उनको भनाई थियो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाउँदै अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ गण्डकी प्रदेश टीम । तस्बिर ः सन्देश÷नागरिक


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।