टाइगर कप भलिबलमा आज पुरुषतर्फ २ र महिलातर्फ १ खेल


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७७ मा प्रकाशित




पोखरामा जारी टाइगर कप आमन्त्रित भलिबल प्रतियोगितामा आज (बुधबार) पुरुषतर्फ २ र महिलातर्फ १ खेल हुनेछन्।

पुरुषतर्फ घरेलु टोली गण्डकीले विभागीय आर्मीसँग खेल्नेछ । दोस्रो खेल भने दुई विभागीय डर्बी सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल प्रहरीबीच हुनेछ। प्रतियोगिताको दोस्रो दिन बुधबार नै महिलातर्फ भने दुई विभागीय सेनाकको त्रिभूवन क्लब र नेपाल पुलिसबीचको एक खेल मात्रै हुनेछ।

हालैमात्र पोखरामा स्थापना भएको टाइगर ग्रुप अफ नेपालले पहिलो पटक आयोजना गरेको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन्।

मंगलबारदेखि सुरु प्रतियोगिताको उद्घाटन खेल खेलेको गण्डकीले विभागीय नेपाल पुलिससँग सोझो सेटमा हार व्यहोरेको छ। पुलिसले गण्डकीमाथि २७–२५, २५–२१ र २५–२२ ले जित निकाल्यो।

त्यस्तै, मंगलबार महिलातर्फ २ खेल भए। विभागीय डर्बीको पहिलो खेलमा नेपाल पुलिसले सशस्त्र प्रहरी बलको एपीएफमाथि २६–२४, २५–२२ र २५–११ के सोझो सेटमा जित निकाल्यो।

त्यस्तै दोस्रो खेलमा विभागीय आर्मीमाथि न्यू डायमण्डले ३–२ को कठिन जित निकाल्यो। पहिलो सेट सहजै जितेको डायमण्डमाथि दोस्रो र तेस्रो सेटमा आर्मीले जित निकाल्यो। चौथो र पाँचौँ सेट डायमण्डले आफ्नो पक्षमा पार्न सफल बन्यो।

कडा प्रतिस्पर्धा रोमाञ्चक बनेको उक्त खेलमा डायमण्डले आर्मीमाथि २५–१३, २२–२५, १८–२५, २७–२५ र १५–१३ ले जित निकालेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।