पोखरा, असार १
गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ ।
गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६ लाख ७५ हजार अर्थात ३९.५ प्रतिशत बजेट विनियोजन भएको छ । त्यस्तै, पुँजीगततर्फ १९ अर्ब ९ करोड २४ लाख ३३ हजार अर्थात ५९.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल बजेटको ०.८ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री डा.गुरुङले बताए ।
बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७ अर्ब ७३ करोड ८९ लाख हुने उल्लेख छ । यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने ९ अर्ब ७९ करोड २९ लाख ४० हजार, समपूरक अनुदानतर्फ ६३ करोड ९७ लाख, रोयल्टी बाँडफाँटबाट प्राप्त हुने ४९ करोड ८९ लाख, ७७ हजार, सशर्त अनुदानतर्फ ३ अर्ब ३५ करोड ६४ लाख, विशेष अनुदानतर्फ ४९ करोड, ८६ लाख प्राप्त हुने जनाइएको छ ।
त्यस्तै, आन्तरिक राजस्वबाट ५ अर्ब ४५ करोड ८४ लाख ८८ हजार प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । त्यस्तै, चालु आर्थिक वर्षबाट खर्च हुन नसकेको २ अर्ब २४ करोड ५० लाख ९४ हजार नगद मौज्दात रहने आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले अनुमान गरे ।
गण्डकी प्रदेश सरकारले १ अर्ब ७५ करोड घाटा बजेट ल्याएको छ । जुन आन्तरिक ऋणबाट पूर्ती गरिने उनले बताए ।
बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्बद्ध कार्यक्रमका लागि ११ अर्ब ९८ करोड ९ लाख ८ हजार, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि ३ अर्ब ८८ करोड ८१ लाख, सामाजिक विकास तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३९ करोड ५१ लख ६७ हजार, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ३२ करोड ७० लाख ४० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका लागि १ अर्ब ६ करोड ५० लाख ४० हजार, उद्योग तथा पर्यटनका लागि ८४ करोड २१ लाख ९३ हजार, कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब ८ करोड ६७ लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
गण्डकी सरकारले भौतिक पूर्वाधारसँगै पर्यटन केन्द्रीत बजेट ल्याएको छ । गण्डकी सरकारले साईक्लिङमार्फत पर्यटन प्रवद्र्दनका लागि पोखराको लेक टु लेक, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा साईक्लिङ मार्ग निर्माणका लागि यस वर्षपनि बजेट विनियोजन गरेको छ । अघिल्लो वर्षमै बजेट छुट्टिएर कार्यान्वयन नभएको यस कार्यक्रमका लागि यस वर्षपनि बजेट विनियोजन गरिएको हो ।
त्यस्तै, भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रमलाई निरन्तरता दिइएको छ । पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं कार्यक्रमका लागिपनि बजेट विनियोजन गरिएको छ । सो कार्यक्रम सञ्चालन गरी पर्यटनको राजधानी पोखरासहित प्रदेश भरिकै पर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माण, पदयात्राको संरक्षण, विकास र प्रवद्र्दनका लागि विद्यमान पदमार्गको स्तरोन्नती, वैकल्पिक पदमार्गको निर्माण र धार्मिक तथा प्रमुखपर्यटकीय गन्तव्यहरुमा पूर्वाधार निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बजेटमा उल्लेख छ ।
गण्डकीमा पहिला घरदेश, अनि परदेश अभियानलाई निरन्तरता दिइएको छ । जस अन्तर्गत पर्यटकीय सूचना केन्द्रको स्थापना, पर्यटकीय उपजको ब्राण्डिङ तथा प्रचारप्रसार र मानव संसाधनको विकास गर्दै आन्तरिक पर्यटन प्रवद्र्धन गरिने अर्थमन्त्री गुरुङले उल्लेख गरे । उनले पर्यटनको नीति र गुरुयोजनाको पुनरावलोकन गरिने बताए ।
गण्डकी सरकारले हिमाल आरोहण सम्बन्धि जनशक्ति उत्पादनका लागि तालिम सञ्चालन गर्न र हिमाल आरोहण गर्ने प्रदेशवासीलाई प्रोत्साहन तथा सम्मान गर्न बजेट विनियोजन गरेको छ ।
गण्डकी सरकारले स्थानिय मदिराको गुणस्तरीय उत्पादन र बिक्री वितरणका लागि कानूनी व्यवस्था मिलाईने बताएको छ । स्थानिय कच्चा पदार्थबाट परम्परागत घरेलु मदिराको व्यवस्थित उत्पादन, नियमन तथा बजारीकरणमार्फत मदिरा र मदिराजन्य पदार्थको आयात प्रतिस्थापन गरिने बजेटमा उल्लेख छ । त्यस्तै, ईन्भेष्ट गण्डकी कार्यक्रम सञ्चालन गर्दै कृषि, पर्यटन, उर्जा र वन तथा खानीजन्य उद्योगमा बाह्य लगानी आकर्षणमार्फत रोजगारी सिर्जना र गरिबी निवारणमा जोड दिईने जनाइएको छ ।
बजेटमा पोखरामा अन्र्तराष्ट्रिय स्तरको वानस्पतिक पर्यटकीय पार्क निर्माणका लागि २ करोड, एक सामुदायिक वन एक पोखरी निर्माण कार्यक्रमलाई निरन्तरता दिईने जनाइएको छ ।
शिक्षातर्फ सिक्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिइएको छ भने सुरक्षित आप्रवासन कार्यक्रमलाई ८५ वटै पालिकामा बिस्तार गरिने बजेटमा उल्लेख छ । स्वास्थ्यतर्फ रगत तथा रगतजन्य पदार्थको निशुल्क उपलब्धताका लागि ४ करोड ५६ लाख बजेट विनियोजन गरिएको छ ।
गण्डकी सरकारले कास्कीको पुँडीटार र नवलपुरको लोकाहा खोलामा औद्योगिक क्षेत्रका लागि फेरीपनि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले वर्षौंदेखि यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । तर अहिलेसम्मपनि सो क्षेत्रमा औद्योगिक क्षेत्र सञ्चालनका लागि कुनैपनि प्रगती भएको छैन । यतिसम्मकी अहिलेसम्म जग्गा प्राप्ति नै भएको छैन ।
गण्डकीलाई दूध, अण्डा र माछामा उत्पादन बढाई निर्यात प्रवद्र्धनका लागि बृहत्तर पशु विकास कार्यक्रम सञ्चालन गरिने मन्त्री गुरुङले बताए । खेलतर्फ उचाईमा खेल, खेलमा उचाई कार्यक्रम सञ्चालन उनले उल्लेख गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







