पोखरामा चार महिने आत्मकल्याण र आरोग्य ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ शुरु

- जगद्गुरु महायोगी सिद्धबाबा कृष्णजी महाराजको निर्देशनमा आत्मकल्याण र आरोग्य साधना यात्रा


     एभरेस्ट आवाज    
     असार २७ गते २०८२ मा प्रकाशित




पोखरा । पोखरा – ३ नारायणस्थानस्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्र, पोखरा मा आज (असार २७ गते बुधबार)देखि विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ सुरु भएको छ। यस चार महिने अनुष्ठानको जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराजले शुभारम्भ गर्नु भयो । 

जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ, वराहक्षेत्र चतराधाम र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखा को संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।अनुष्ठानका प्रमुख बक्ता तथा संकल्पकर्ता जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराज हुनुहुन्छ, जसले विगत दुई दशकदेखि आध्यात्मिक चेतना, आत्मशुद्धि र पारम्परिक उपचारका माध्यमबाट मानव जीवनलाई दिव्यताको दिशामा डोहोर्‍याउने प्रयास गर्दै आउनु भएको छ। उहाँको भनाइमा, “यो युग केवल औषधि वा मन्त्रको मात्र युग होइन, यो ‘समग्र उपचार’को युग हो, जहाँ शरीर, मन र आत्माको सामूहिक उपचार आवश्यक छ।”

चार महिनासम्म चल्ने यो अनुष्ठान आषाढ शुक्ल एकादशी (हरिशयनी) देखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) सम्मको अवधि समेट्नेछ, जसलाई सनातन धर्ममा अत्यन्तै पवित्र मानिन्छ। चतुर्मास अवधिमा विवाह, गृह प्रवेश जस्ता मांगलिक कार्य रोक्ने परम्परासँगै योग, ध्यान, व्रत, जप, होम, तपस्या र भगवद आराधनालाई विशेष महत्व दिइन्छ। जगद्गुरु महायोगी सिद्धबाबाका अनुसार, “चतुर्मास आत्मसंयम, साधना र आत्मकल्याणको मार्गमा लाग्ने दुर्लभ अवसर हो। यो समयमा गरिने साधनाले जीवनको मूल स्वभाव शुद्ध हुन्छ।”

अनुष्ठानमा हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म हिमालयन सिद्धमहायोग ध्यान साधना, ८ बजेदेखि १२ बजेसम्म ग्रह दोष निवारण, मन्त्रजप, हवन, रुद्राभिषेक, स्वास्थ्य परीक्षण, र साँझ ४ बजेदेखि ६ बजेसम्म सत्सङ्ग र वेद–वेदान्तमूलक प्रवचन हुनेछ।

हिमालयन सिद्धमहायोग कुनै सामान्य योग अभ्यास होइन। यो गुरुकृपाद्वारा शक्तिपात विधिबाट सञ्चालित विशेष योग प्रणाली हो, जसमा हठ, मन्त्र, लय र राजयोगका सबै शाखाहरू एकीकृत छन्। जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराजको शब्दमा, “साधकले केवल समर्पणभाव राखे पुग्छ, बाँकी योग स्वयं घटित हुन्छ — कहिले शरीर हठयोगमा स्वतः क्रियाशील हुन्छ, कहिले मन्त्र स्वतः जपिन्छ, कहिले चेतना प्रकाश वा नादमा लीन हुन्छ। यही प्रक्रिया हो महायोग, जुन अन्ततः परमात्मासँगको एकताको अनुभूति दिन्छ।”

अनुष्ठानमा प्रयोग गरिने पारम्परिक उपचार पद्धति अन्तर्गत ग्रह दोष निवारण, मन्त्रोपचार, आयुर्वेद र योगोपचारलाई समावेश गरिएको छ। उहाँका अनुसार, “पूर्वजन्मकृत पाप, ग्रहदोष, वा मानसिक चञ्चलता — यी सबै उपचार योग्य छन्, तर आधुनिक चिकित्सा जस्तै, यीको उपचार पनि विधिपूर्वक संयोजन आवश्यक हुन्छ। त्यसैले हामी मन्त्र, औषधि, योग र श्रद्धा चारवटै अंगलाई समाहित गरेर उपचार गर्छौं।”

ग्रह दोष निवारणमा वैदिक ज्योतिषशास्त्र अनुसार चिना अध्ययन गरी अशुभ प्रभाव घटाउने विभिन्न धार्मिक प्रक्रिया अपनाइनेछ। मन्त्रोपचारमा वेद, पुराण, तान्त्रिक र सावर मन्त्रहरू मार्फत मानसिक र आध्यात्मिक सुरक्षा प्रदान गरिनेछ। आयुर्वेद उपचारमा अनुभवी चिकित्सकबाट रोग परीक्षण, औषधि सेवन र जीवनशैलीसम्बन्धी सल्लाह प्रदान गरिनेछ। जगद्गुरु महायोगी सिद्धबाबा यसबारे भन्नुहुन्छ, “मन्त्र र औषधिको शक्ति मानव चेतनाभन्दा गहिरो छ – जब सही विधिबाट सही समयमा प्रयोग हुन्छ, तब आश्चर्यजनक परिणाम देखिन्छ।”

जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराजले यसअघि पनि नेपालमा २०६५ सालमा सर्वरोग निवारण शिविर, २०७५ मा श्रीराम तारकब्रह्म महायज्ञ, २०७९ मा पशुपतिनाथमा तिरुद्र महायज्ञ, २०८० मा श्रीरामार्चन महायज्ञ र २०८१ मा चतराधाममा संकटमोचन श्रीहनुमद् महायज्ञ जस्ता ऐतिहासिक अनुष्ठानहरू सम्पन्न गरिसक्नु भएको छ। उहाँको संकल्पमा आधारित कार्यक्रमहरूले आध्यात्मिक ऊर्जा र सामाजिक जागरण दुवैमा सकारात्मक प्रभाव पारेका छन्।

यस अनुष्ठानमा सहभागी हुन चाहने साधकले कम्तीमा पाँच दिनको अवधिमा सहभागिता जनाएर ध्यान, जप, उपचार र प्रवचनको लाभ लिन सक्नेछन्। सहभागीता निःशुल्क हुनेछ भने आवस्यक सम्पर्क विवरण आयोजक संस्थाबाट प्राप्त गर्न सकिनेछ।

चार महिनासम्म पोखरामा चल्ने यो अनुष्ठानले केवल आध्यात्मिक लाभ मात्र होइन, आरोग्य, मानसिक सन्तुलन र जीवनशैलीको शुद्धिकरणमा समेत उल्लेखनीय भूमिका खेल्ने आयोजकहरूको विश्वास छ। ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ को शुभारम्भ गर्दै जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराजले भन्नुभयो, “संसारले खोजिरहेको समाधान अब वैज्ञानिकताको खोलमा लुकेको आध्यात्मिकताको पुनर्जागरण हो – र त्यसको यात्रा यहीँबाट सुरु हुन्छ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।