७० महिनापछि प्रधानमन्त्री कार्यलय सिंहदरवारमा फर्कदैँ


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




७० महिनापछि प्रधानमन्त्री कार्यलय आज (सोमबार) सिंहदरवारमा फर्कदैँछ।

भुकम्पपछि अन्यत्र सारिएको प्रधानमन्त्री कार्यालय ७० महिनापछि सिंहदरबारको मूल भवनमा सर्न लागेको हो।

भूकम्पपछि पुनःनिर्मित प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्देछन्।

सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रवलीकरण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सिंहदरबार भवनको उद्घाटन गर्नेछन्।

पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावट समेत सम्पन्न गरेर उद्घाटनको तयारी गरेको हो। उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत आजै सार्ने तयारी गरेको हो।

पूर्वी भाग प्रवलीकरणको उद्घाटनसँगै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे पनि सिंहदरबार मूल भवनको डबलीबाटै जानकारी गराउने कार्यक्रम समेत छ।

विक्रम सम्वत १९६० सालमा तत्कालिन प्रधानमन्त्री चन्द्रशम्सेर जबराको पालामा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक युरोपमा विकास भएको न्यू क्लासिकल शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो।

गौरीशर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरेको हो। उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको ८७ करोड लागतमा सम्पन्न भएको जनाइएको छ।

पुननिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी निर्माण गरिएको छ।

उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानै स्वरुप नबिग्रने गरी प्रवलीकरण गरिएको छ ।

आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको प्रधिकरणले जनाएको छ।

उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरे पश्चात् भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ।

सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ। हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन्।

साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढंगले व्यवस्था गरिएको छ। तर भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा निर्माण भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।