राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतद्वारा वसन्त श्रवण


     रासस     
     फागुन ४ गते २०७७ मा प्रकाशित




काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छन् ।

प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो ।

समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले ‘गीत गोविन्द’ महाकाव्यको दोस्रो अध्यायमा संस्कृत भाषामा रहेको वसन्त श्रवण गराएका थिए । सो अवसरमा नेपाली सेनाले सलामी दिनाका साथै राष्ट्रियगान र पञ्चैबाजासमेत प्रस्तुत गरिएको थियो ।

मल्लकालमा वसन्तपुरको मोहनचोकमा वसन्तोत्सव मनाउने गरिएको थियो । कामदेवलाई माघशुक्ल पञ्चमीका दिन पूजा गरी वसन्तोत्सव गर्ने गरिएको हनुमानढोका दरबारमा रहेको अभिलेखमा उल्लेख गरिएको दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।

भक्तपुरमा रहेको जितामित्र मल्लको विसं १७४५ को अभिलेख र भूपतीन्द्र मल्लको विसं १७५५ को अभिलेखमा भने श्रीपञ्चमीमा राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने गरेको उल्लेख गरिएको पनि उनले बताए । शाहकालदेखि भने हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण गर्ने परम्परा शुरु भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।