स्थानीय सरकारद्वारा २९ सडक कालोपत्र सम्पन्न


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित




लमजुङ।लमजुङको बेँसीशहर नगरपालिकाले तीन आर्थिक वर्षमा २९ वटा सडक कालोपत्र सम्पन्न गरेको छ। नगरपालिकाले आर्थिक वर्ष २०७४-७५ देखि २०६६-७७ सम्ममा नगरभित्रको विभिन्न २९ वटा शाखा सडक कालोपत्र सम्पन्न गरेको हो ।

नगरपालिकाको ६० प्रतिशत र उपभोक्ताको ४० प्रतिशत लगानीमा नगरभित्रका विभिन्न शाखा सडक कालोपत्र सम्पन्न गरेको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । उनले भने, “हामीले भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्दै आएको र तीन वर्षको अवधिमा नगरपालिकाले ३.६६ किलोमिटर सडक कालोपत्र गरेको छ । यतिका सडक कालोपत्र गर्नलाई करीब रु चार करोड खर्च भएको छ ।’’ नगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७६-७७ मा ०.९९ किलोमिटर सडक अर्थात सात सडक कालोपत्र सम्पन्न भएको थियो । त्यस्तै आव २०७५-७६ मा १.४७ किलोमिटर अर्थात् १४ सडक र आव २०७४-७५ मा १.५ किलोमिटर अर्थात् आठ सडक कालोपत्र सम्पन्न भएको थियो ।

कालोपत्र सम्पन्न गरेकामध्ये आव २०७६-७७ मा रु ४३ लाख ९७ हजार ८६१ आव २०७५-७६ मा रु एक करोड ६३ लाख ८३ हजार ३१४ र आव २०७४-७५ मा रु एक करोड ५० लाख खर्च भएको नगरपालिकाले जनाएको छ । स्थानीय तहको निर्वाचनपछि बेँसीशहर बजारका शाखा सडक ६०-४० को लागत साझेदारीमा कालोपत्र गरिएका हुन् । सडक विस्तार तथा कालोपत्र हुन बाँकी सडकको समेत काम हुने प्रक्रियामा रहेका छन् । केही सडकको निर्माण कार्य अघि बढिरहेको छ । नगरपालिकाले यस चालू आवमा नगरको विभिन्न स्थानका पाँच सडक कालोपत्र गर्न लागेको छ । यसका लागि चालू आवमा नगरपालिकाले रु ५४ लाख ९८ हजार ३६९ विनियोजित गरेको छ । नगरपालिकाले नगरभित्रका सबै गाउँमा सडक सञ्जालले जोड्न लागेको छ ।(रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।