देशभरका वडामा एमालेको जनभेला


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८२ मा प्रकाशित




नेकपा एमालेले देशभरका स्थानिय तहका वडामा आज एकसाथ जनभेला गरेको छ ।

एमालेको केन्द्रिय कमिटीको निर्णय र जिल्ला एवं पालिकाको निर्देशन अनुसार शनिबार देशभरका वडामा जनभेला सम्पन्न गरेको एमालले जनाएको छ । कास्कीमा पनि पोखरा महानगरका ३२ वटा वडा सहित रुपा, मादी, माछापुच्छ्रे र अन्नपुर्णका अधिकांश वडामा जनभेला सम्पन्न भएको जिल्ला अध्यक्ष बैनबहादुर क्षत्री अधिकारीले जानकारी दिए । पोखरा १९ को वडा भेलामा बोल्दै एमालेका नेता जगत विश्वकर्माले बर्तमान सरकार संविधान भन्दा बाहिरबाट बनेको बताउँदै, सरकार विरुद्धको आवाजलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।भेलामा एमाले नेता सुरेन्द्रमानसिंह भण्डारी, अर्जुन अधिकारी,ईमानराज पौडेल, बिष्णुप्रसाद गौतम र वडा कमिटीका अध्यक्ष कोमल बास्तोलाले एमालेको नेतृत्व बिना देशमा सुशासन नहुने बताए ।

त्यस्तै पोखरा १६ मा भएको भेलालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य कृष्ण थापाले संविधान आफ्नो ट्रयाक भन्दा बाहिर गएकाले यसलाई सही ठाँउमा ल्याउँन जनदबाब आवश्यक रहेको बताए । भेलामा कोशी प्रदेशका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, नेतृ उषा बरुवाल, नेता दानबहादुर बानियाँ, पोखरा महानगर कमिटीका अध्यक्ष जीवनप्रसाद आचार्य, पोषन बहादुर थापा र वडा कमिटीका अध्यक्ष यमनकाजी गुरुले बोलेका थिए । एमालले कार्तिक २९ गते पोखरामा जनसभा गर्ने तयारी समेत गरेको छ ।

२५ गते पालिका स्तरीय जनसभा र प्रर्दशन पछि २९ गते जनसभा गरिने अध्यक्ष क्षेत्रीले बताए । एमाले कास्कीले मंसिर १३ गते ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।