द्वन्द्व दोहोरिने विषय धेरै हदसम्म काबुमै राखेका छौँः गृहमन्त्री अर्याल


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८२ मा प्रकाशित




गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्ध दोहोरिने किसिमका विषय काबुमै राख्न सफल भएको बताएका छन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आगामी प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सरकारले तीव्र गतिमा काम गरिरहेको बताए । “होस्टालिटीको अवस्था निरन्तर नहोस् । देशको विद्यमान कानुन जे छ त्यो शासन मुताबिक यथावत रूपमा चल्नुपर्छ,” उनले भने, “द्वन्द दोहोरिने कुरा धेरै हदसम्म हामीले अहिले काबु भित्र राखेका छौँ ।”उनले त्यसका लागि राजनीतिक दल र जेनजी समूहबीच संवाद चलिरहेको जानकारी दिए । मन्त्री अर्यालले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले लुटिएका हतियार र फरार कैदीबन्दीको व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको जानकारी दिए ।

साथै प्रहरीको मनोबल बढाउने र क्षतिग्रस्त कार्यालयको पुनःनिर्माणमा नागरिक सहयोग प्राप्त भएको उनको भनाइ छ । उनले जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने विश्वास व्यक्त गरे । मन्त्री अर्यालले विभिन्न समूहले विविध माग राखी प्रदर्शन, धर्ना, जुलुस र बिरोधलगायतका कार्यक्रम गरिरहेको गतिविधिको सुक्ष्म निगरानी र समन्वयात्मक रूपमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको समितिलाई जानकारी दिए । मन्त्री अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तथा देशको समग्र शान्ति सुरक्षालाई ध्यानमा राखी हालसम्म चार पटक केन्द्रीय सुरक्षा समितिको बैठक बसी निर्वाचन सुरक्षा रणनीति निर्माणलगायतका जम्मा २० वटा निर्णय गरिएको बताए ।

त्यसैगरी मन्त्री अर्यालकाअनुसार भाद्र २३ र २४ गतेको घटनासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५९५ जनालाई पक्राउ गरिएको तथा २८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।