बाक्लियो कुलमान र बालेनको भेटवार्ता, सहकार्यको संभावना जिवितै


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८२ मा प्रकाशित




काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र ऊर्जा मन्त्री कुलमान घिसिङबीचको भेटवार्ता निकै बाक्लिएको छ ।

दुई जनाबीच आगामी फागुन २१ गतेको निर्वाचनमा एकै पार्टी वा मोर्चा बनाएर अगाडि बढ्नेबारे छलफल भइरहेको छ । कुलमान अहिले मन्त्रालयको काम र पार्टी संगठन निर्माणको कामलाई एकसाथ अघि बढाइरहेका छन् । त्यहीअनुसार उनी देश दौडाहार भेटघाटमा व्यस्त छन् ।उनले विभिन्न वैकल्पिक पार्टी र नेताहरूलाई एक ठाउँमा आउनुपर्ने आवश्यकता सुनाइरहेका छन् । उनले शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चार घण्टा लामो वार्ता गरे । भेटमा वैकल्पिक शक्तिहरू एकजुट हुने विकल्पबारे लामो कुराकानी भएको छ।

‘कसरी अगाडि बढ्नेबारे छलफल भएको छ । एउटै पार्टीबाट नगए पनि कार्यगत एकता अथवा मोर्चा बनाएर जाने कुरा भएको बुझेको छु’, भेटमा सहभागी कुलमानको पार्टीका एक सदस्यले भने, ‘दुवै नेताहरू रास्वपासँग सम्पर्कमा पनि हुनुहुँदो रहेछ । वैकल्पिक शक्ति एक ठाउँमा आउनुपर्ने दुवैको एक मत छ । अहिले नै सहमति नभए पनि निर्वाचनसम्म केही न केही निर्णय होला ।’

उज्यालो नेपालका नेताहरूले यी दुईजनाबीच अझै पनि सहकार्यको सम्भावना जीवितै रहेको बताए । तर बालेन अहिले पनि कुलमानको पार्टीका जाने कुरामा अझै अनिर्णित छन् । उनी पर्ख र हेरको रणनीतिमा छन् । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि सम्पर्कमा रहेकाले यो अलमल देखिएको हो । उज्यालो नेपाल र रास्वपा दुवै बालेनलाई पार्टीमा भित्र्याउन लागिरहेका छन् । बालेनको पछाडि रहेको ठूलो युवा पंक्तिको लोभ यी दुवैलाई छ ।

घिसिङको उज्यालो नेपाल पार्टीले मंसिर १७ गते काठमाडौंमा घोषणा सभा गर्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा घोषणा कार्यक्रममा प्रमुख अतिथि कुलमान घिसिङ छन् । उनी उक्त घोषणासभामार्फत् पहिलो पटक नयाँ दलको कार्यक्रममा ‍औपचारिक रुपमा देखिँदैछन् ।

उक्त घोषणा सभाका लागि कुलमानले प्रमुख अतिथिका रूपमा बालेनलाई मौखिक निम्तो दिएका छन् । तर उनका बुवाको सोमबार निधन भएकाले अब उनी शोकमा परेका छन् । त्यसकारण उक्त कार्यक्रममा उनी देखिने सम्भावना छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।