तस्बीरः एन्फा
राष्ट्रिय महिला लिग फुटबलमा विभागीय सशस्त्र प्रहरी बलको टोली एपीएफ अपराजित रहँदै उपाधि जितेको छ।
काठमाडौँको दशरथ रंगशालामा सम्पन्न राष्ट्रिय महिला लिग समापन कार्यक्रममा विजयी टिम एपीएफलाई ट्रफि हस्तान्तरण गरिएको थियो।
शुक्रवार भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई ३–०ले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। आर्मीसँगको अन्तिम खेलअघि नै एपीएफ यस सिजनको विजेता बनिसकेको थियो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अंकको अग्रतासहित उपाधि हात पारेको हो।
एपीएफले १२ खेलमा ३६ अंक जोड्दा १२ खेलमा २६ अंक जोडेको आर्मी उपविजेता बनेको छ।
यसअघि, शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०–०ले हराएको थियो। पुलिसको जितमा निरु थापाले ४ गोल गरिन्।
यस्तै निर्मला विकले ३, सुनकला राई र अमृता जैशीले १/१ गोल गरे। पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो।
चौदण्डीगढी यस महिला लिगमा जितविहीन बन्यो। उसले पुछारमा रहेर लिग सकाएको छ । उपाधि जितेको एपीएफले १५ लाख रुपैयाँ प्राप्त गरेको छ।
उपविजेता बनेको आर्मीले ८ लाख, तेस्रो भएको पुलिसले ५ लाख र चौथो बनेको स्याङ्जाको वालिङ नगरपालिकाले ३ लाख रुपैयाँ प्राप्त गरेका छन्।
एपीएफकी सरु लिम्बु सर्वोत्कृष्ट खेलाडी, साम्बा उत्कृष्ट फरवार्ड
यस सिजनको राष्ट्रिय महिला लिग शुक्रबार सम्पन्न भएसँगै २ खेल अगाडि नै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको विभागीय टोली एपीएफकी सरु लिम्बु सर्वोत्कृष्ठ खेलाडी घोषित भइन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडी सरु लिम्बुले यामाहा स्कुटर प्राप्त गरिन् ।
प्रतियोगिताकौ उत्कृष्ट फरवार्डको उपाधि एपीएफकी सावित्रा भण्डारी (साम्बा) ले प्राप्त गरिन् । साम्बा लिगकै शिर्ष गोलकर्ता हुन् भने साम्बाले इन्ज्युरीका कारण अन्तिम २ खेल गुमाइन्।
प्रतियोगिताको उत्कृष्ट गोलकिपरको अवार्ड नेपाल पुलिस क्लबकी उषानाथले प्राप्त गर्दा उत्कृष्ट डिफेन्डरको अवार्ड पनि नेपाल पुलिस क्लबकै खेलाडी अम्रिता जैशीले प्राप्त गरिन्। त्रिभुवन आर्मी क्लबकी बिमला चौधरी उत्कृष्ट मिडफिल्डर घोषित भइन्। उत्कृष्ट टिम प्रशिक्षकको अवार्ड पनि एपीएफकी प्रशिक्षक भगवती थापाले प्राप्त गरिन्।
यस्तै उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर तथा फरवार्डलाई ५०/५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।
प्रतियोगिताको फेयर प्ले टिमको अवार्ड चन्द्रपुर नगरपालिकाले प्राप्त गरेको छ । उसले फेयर प्ले अवार्ड स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







