एमालेको महाधिवेशन आउन २ दिन बाँकी, विदेशी पाहुनालाई नबोलाईने,महाधिवेशनबाट गुटबन्दी अन्त्य गरौँ: उपमहासचिव गुरुङ


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८२ मा प्रकाशित




नेकपा एमालेको ११ औँ महाधिवेशन आउन दुई दिन मात्र बाँकी रहेको छ । महाधवेशनलाई व्यवस्थित बनाउन गठन भएका बिभिन्न समितिले तयारीलाई अन्तिम चरणमा पुर्याएको एमालेले जनाएको छ ।

महाधिवेशनमा यस पटक विदेशी पाहुना भने सहभागि नहुने भएका छन् । महाधवेशनको उद्घाटन सत्रमा पार्टीले यस पटक विदेशी पाहुनालाई नबोलाउने निर्णय गरेको हो । बिहीबार च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरूलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरूलाई शुभकामना पत्र पठाउन भनिएको जानकारी दिए ।

महाधिवेशनमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरूलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताए ।

यसैबिच एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीको ऐतिहासिक ११ औँ राष्ट्रिय महाधिवेशनबाट गुटबन्दी अन्त्यको सङ्कल्प गर्न आह्वान गरेका छन्।उनले सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सक्षम नेतृत्व र नीति निर्माण गर्नु पर्नेमा जोड दिदै गुटबन्दी अन्त्यका लागि आव्हान गरेका हुन् । गुरुङले महाधिवेशन नेतृत्व चयनको औपचारिकता मात्र सिमित हुन नहुने भन्दै वैचारिक स्पष्टता, सांगठनिक सुदृढीकरण र राष्ट्रिय समृद्धिको मार्गचित्र कोर्ने ऐतिहासिक अवसर भएको बताएका हुन्।

एमालेको ११ औँ महाधिवेशन मङ्सिरको २७ गतेबाट २९ सम्म काठमाडौँमा सुरु हुँदैछ । उद्घाटन भक्तपुरको सल्लाघारीमा हुनेछ भने बन्दसत्र काठमाण्डौंमा गर्ने गरी तयारी भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।