पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ:महामन्त्री थापा


     एभरेस्ट आवाज    
     पौष ७ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्नेमा जोड दिएका हुन् । उनले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरे । “संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,”उनले भने । बदलिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो । महामन्त्री थापालले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताए ।

कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने महामन्त्री थापाले बताए ।उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख गरे । महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि र रीसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उनको भनाई थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।