पोखरामा १९ औँ राष्ट्रिय विद्यार्थी गुणीय चक्र सुरु


     एभरेस्ट आवाज    
     पौष ३० गते २०८२ मा प्रकाशित




पोखरा ।

पोखरामा विद्यार्थी गुणीय चक्रको १९ औँ राष्ट्रिय सम्मेलन सुरु भएको छ । क्वेष्ट नेपाल र सेन्ट मेरीज सेकेण्डरी स्कुल पोखराको संयुक्त आयोजनामा विद्यार्थीको नेतृत्व विकास, नैतिक मूल्य र सामाजिक उत्तरदायित्व प्रवर्धन गर्ने उद्देश्यसहित गुणीय चक्र सम्मेलन सुरु भएको हो ।

सम्मेलनको नेपाल सरकारका महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले उद्घाटन गरिन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले विद्यार्थी गुणीय चक्र पाठ्य पुस्तकभन्दा बाहिरको जीवनोपयोगी शिक्षा भएको बताईन् । आजका बालबालिका प्रतिभाशाली र प्रविधिमैत्री भए पनि तीव्र सामाजिक परिवर्तन, मानसिक दबाब र अनिश्चितताबीच सही मार्गदर्शन आवश्यक रहेको भन्दै उनले विद्यार्थी गुणीय चक्रले सोच, चरित्र र नेतृत्व निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन् ।
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्नु कानुन विपरीत भएकोतर्फ सचेत गराउँदै उनले सुरक्षित सिकाइ वातावरण र बालमैत्री नीतिप्रति मन्त्रालय प्रतिबद्ध रहेको बताईन् ।
क्वेष्ट नेपालका प्रमुख संरक्षक प्रोफेसर दिनेशप्रसाद चापागाईंले पछिल्ला दुई दशकमा नेपालभर विद्यार्थी गुणीय चक्र विस्तार भएको बताए । विद्यार्थी गुणीय चक्र विद्यार्थीको व्यक्तित्व विकासका लागि डिजाइन गरिएको प्रक्रिया भएको उल्लेख गर्दै उनले विद्यार्थीलाई दक्ष बनाउनु नै यसको मुख्य उद्देश्य रहेको प्रष्ट्याए । “आफैँसँग प्रतिस्पर्धा गरौँ, अरूसँग सहकार्य गरौँ” भन्ने विद्यार्थी गुणीय चक्रको मूल मन्त्र आत्मसात् गर्न उनले विद्यार्थीहरूलाई आग्रह गरे ।
क्वेष्ट नेपालको प्रमुख सल्लाहकार सुरिना सुनयनी गुरुङले नेपालभरका विद्यार्थीहरुलाई एक ठाँउमा भेला गराई क्वेष्ट नेपालले विद्यार्थीहरुको गुणस्तरको पहिचानमा महत्वपूर्ण काम गर्दै आइरहेको बताइन् ।
सम्मेलनकी सह संयोजक तथा सेन्ट मेरिजकी प्रध्यानाध्यापक सिस्टर जेसी। सी। जे।ले विद्यार्थीहरुलाई समस्याको पहिचान गरी समस्याको मुल जरामा पुगी समस्याको समाधानमा आफै लाग्नुपर्नेमा जोड दिईन् ।
क्वेष्ट नेपालका अध्यक्ष नारद रिजालले सम्मेलनमा विद्यार्थीहरुले आफुहरुले सोचेको भन्दा राम्रो गरेको र अझै दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमले विद्यार्थीहरुलाई धेरै फाइदा पुग्ने बताए । तीन दिन सम्म हुने सम्मेलनमा विविध शैक्षिक तथा सिर्जनात्मक गतिविधिसहित सञ्चालन भइरहेको छ ।
सम्मेलनको पहिलो दिन प्रतिनिधिहरूको रिपोर्टिङबाट कार्यक्रम सुरु भएको थियो । त्यसपछि समानान्तर सत्र, विद्यार्थी गुणीय चक्र केस स्टडी प्रस्तुति, प्रतिस्पर्धात्मक कार्यक्रम, कार्यशाला तथा अवलोकन भ्रमण ९साइट सिइङ० कार्यक्रमहरू सञ्चालन छन् ।
यसअघि आयोजित एसक्यूसी बिल्डिङ रेसिलियन्ट माईन्ड्स फर अ सस्टेनेबल फ्यूचर शीर्षकको प्यानल छलफलमा विद्यार्थी प्रतिनिधिहरूले विद्यार्थी गुणीय चक्रले उनीहरूको सोच, व्यवहार, आत्मविश्वास र नेतृत्व क्षमतामा ल्याएको परिवर्तनबारे अनुभव प्रस्तुत गरे । छलफलमा आजको समाजको प्रमुख समस्या इम्प्टी ग्याप ९एकअर्कालाई बुझ्ने क्षमताको कमी० रहेको निष्कर्ष निस्केको थियो ।

चितवन, गोदावरी, झापा, रुपन्देही, पोखरा, सुदूरपश्चिमलगायत विभिन्न हबका विद्यार्थीहरूले एसक्यूसी मार्फत समस्या पहिचान, विश्लेषण र समाधानका चरणहरू सिकेको बताए । प्लान, एक्सन, डुइङ र चेक चक्र, पाइ डायग्राम, लाइन ग्राफ, पेयर र्याङकिङ, परेटो चार्ट, इसिकावा डायग्राम, व्हाइ व्हाइ एनलाइसिस जस्ता उपकरण प्रयोग गरेर विद्यालय तथा समुदायका वास्तविक समस्यामा काम गरिएको अनुभव सुनाउँदै सहभागीहरूले विद्यार्थी गुणीय चक्र सुरक्षित अभिव्यक्ति, सहकार्य र निर्णय क्षमताको अभ्यासस्थल भएको धारणा राखे ।
कार्यक्रममा सहभागीहरूको साझा निष्कर्ष थियो ः विद्यार्थी गुणीय चक्र केवल एउटा कार्यक्रम नभई जीवनका लागि आवश्यक सहानुभूति, सहकार्य, नेतृत्व र जिम्मेवारी विकास गर्ने प्रभावकारी प्रक्रिया हो । दिगो भविष्यका लागि सक्षम र सहनशील मन निर्माणमा विद्यार्थी गुणीय चक्रको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको प्यानल डिस्कसनका सहजकर्ता ज्यासमिनका रन्जित श्रेष्ठले बताइन् ।
सम्मेलनका क्रममा विद्यार्थी गुणीय चक्र थीम गीत, स्वागत नृत्य, केस स्टडी प्रस्तुति, प्रशंसापत्र वितरण तथा सम्मान कार्यक्रम पनि सम्पन्न भएका छन् । आयोजकका अनुसार सम्मेलनले विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्यको नयाँ ऊर्जा थप्दै विद्यार्थी गुणीय चक्रलाई अझ सुदृढ बनाउने विश्वास लिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।