प्रतिनिधिसभा पुनःस्थापना भए तमासाको राजनीति शुरु हुन्छः प्रधानमन्त्री ओली


     रासस     
     फागुन १० गते २०७७ मा प्रकाशित




फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएमा सत्ता समीकरणको खेल, भागभण्डा र तमासाको राजनीति शुरु हुने बताएका छन् ।

बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले आफू देश बनाउने अभियानमा निरन्तर लागिरहने बताए । मुलुक निर्वाचनमा गएपछि केही व्यक्तिमा राजनीति सिद्धिने छटपटी भएको उनको भनाइ थियो ।

‘देश बनाउन लोकतान्त्रिक आन्दोलन चलिरहन्छ’, उनले भने, ‘समग्र राष्ट्र परिवर्तनको आन्दोलन भएकाले सफलताका साथ अगाडि बढ्छ ।’ आफूले अदालतलाई धम्की नदिएको स्पष्ट गर्दै उनले न्यायालय र शक्ति पृथकीकरणको सिद्धान्तमा विश्वास रहेको उल्लेख गरे ।

अहिलेको आवश्यकता शिक्षा, स्वास्थ्य, आवास भएको उल्लेख गर्दै उनले शहरका बालबालिकाले झै गाउँका बालबालिकाले गाउँमै कम्प्युटर र इन्टरनेटको प्रयोग गरेर शिक्षा आर्जन गर्ने बताए । पश्चिम सेती राष्ट्रकै गौरवको योजना भएकाले प्रयाप्त विद्युत् उत्पादन गरी सुदूरपश्चिमको उद्योगमा विद्युत् आपूर्तिमा सहज हुने उनले जनाए ।

उनले भागरथी भट्ट हत्याकाण्डमा केही तत्वले राजनीति गर्न खोजे पनि सफल नभएको बताए । उनले भने, ‘अपराधीलाई प्रहरीले अनुसन्धानपछि पक्राउ गरेको छ । म कञ्चनपुरकी निर्मला पन्तका हत्यारालाई पनि अनुसन्धान गरी सार्वजनिक गर्न प्रशासनलाई निर्देशन दिन्छु ।’ प्रधानमन्त्री ओलीले जनतालाई समस्या मुक्त गर्न सके मात्र देशको विकास निर्माणको काम अगाडि बढ्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लडाकू व्यवस्थापनका क्रममा क्यान्टोनमेन्टमा ठूलो भ्रष्टाचार गरिएको उल्लेख गर्दै तत्कालीन पार्टीमा अमिक शेरचनको नेतृत्वमा बुझाइएको प्रतिवेदन दबाइएको बताए । लडाकूका बीचमा त्यो प्रतिवेदन नजाओस् भनेर च्यातिएको उनले जानकारी दिए । उनले औद्योगिक क्षेत्र बनाउने प्रक्रिया सुदूर पश्चिमबाट गरिएको उल्लेख पनि जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।