म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गतको भू तथा जलाधार संरक्षण कार्यालयले मालिका–७ बिम र वडा नम्बर ६ को दुखु हुँदै मालिका धुरी जाने पदमार्ग निर्माण गरेको हो।
कार्यालयका संरक्षण अधिकृत शम्भुकुमार मिश्रले १ हजार २ सय ७२ मिटर पदमार्ग निर्माण भएको जानकारी दिए।
‘उकालोमा १.५ मिटर चौडाइमा ढुंगा चिनेर र तेर्सोमा ढुंगा बिछ्याइएको छ’, उनले भने, ‘उपभोक्ता समितिले ३९ लाख २० हजार भुक्तानी लगेका छन् ।’ देउराली भन्ने ठाउँभन्दा केही माथिबाट मालिका धुरीसम्मै पदमार्ग बनाइएको हो।
यसैगरी, मालिका धुरी परिसरमा ५ सय १० मिटर सुक्खा पर्खाल निर्माण भएको छ। पदमार्गमा प्रयोग गर्ने ढुंगा ओसार्न थप ३ सय मिटर माटो काटेर पदमार्ग बनाइएको छ। डेढ सय स्थानीय युवाले एक महिनासम्म जंगलमा बास बसेर पदमार्ग निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष देवबहादुर पुनले बताए।
‘नजिकै बस्ती नभएकाले जंगलमै बास बसेर पदमार्ग बनायौँ’, उनले भने, ‘मजदुरलाई शिविर बनाएर राख्नुपर्दा व्यवस्थापनमा पनि खर्च भयो।’
यसअघि उकालो, भिरालो र साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने समस्या थियो। पदमार्ग निर्माण भएपछि सुरक्षित र सहजरूपमा यात्रा गर्न सकिने भएको बिमका पलवीर जुग्जालीले बताए।
‘साँघुरो बाटोमा चिप्लिएर लड्ने जोखिम थियो’, उनले भने, ‘अब भने ढुक्क भएर हिँड्न सकिन्छ।’
सडक र पदमार्ग बनेपछि मालिकाको यात्रा अवधि छोटिएको छ। मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । ८३ लाखको लागतमा बाइन्दफाँटदेखि धौलागंगा र नागीथलाको बीचसम्म सडक पुगेको बिमका वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए।
‘बिमबाट अहिले साढे २ देखि ३ घण्टामै मालिका पुग्न सकिन्छ’, उनले भने, ‘पहिलेको तुलनामा आधाभन्दा धेरै यात्रा अवधि घटेको छ।’
मालिका गाउँपालिकाको वडा नम्बर ७ र ६ तथा रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ को सीमानामा अवस्थित मालिका धुरी समुद्री सतहदेखि ३ हजार ४ सय मिटरको उचाईमा अवस्थित छ।
रघुगंगा गाउँपालिकाले १० लाखको लागतमा ठाडाखानीदेखि पहिरेनीसम्म करिब ५ किलोमिटर सडक र ४ लाख २० हजारमा बथानडाँडादेखि सरघारीसम्मको उकालो बाटोमा ३ किलोमिटर पैदलमार्ग निर्माण गरेको छ। २० भन्दा बढी हिमशृंखला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ। दर्शन र पूजा–आजा गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए।
‘सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको भीड लाग्छ’, उनले भने, ‘म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौं, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन्।’
मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ। लालीगुराँसको जंगलको बीचमा रहेको मालिकादेखि सिस्ने, गुर्जा, मानापाथी, धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे«े, मनास्लुलगायत २० भन्दा बढी हिमशृंखला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ।
सदरमुकाम बेनीदेखि सवारी साधनमार्फत एकै दिन र पैदलयात्रा गर्दा २ दिनमा पुगिने मालिका क्षेत्रको जंगलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो। गत वर्ष विनियोजन भएको १५ लाख बजेटबाट सत्तल र मालिका थान परिसरमा पर्खाल बनाएर रेलिङ निर्माण भएको छ। थप पूर्वाधार बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपिआर) तयार पार्ने काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए। उनकाअनुसार खानेपानी व्यवस्थापन र हेलिप्याड निर्माण गर्ने तयारी भएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







