निर्वाचनसम्बन्धी जानकारी लिन‘कल सेन्टर’को शुभारम्भ


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ ।

निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले सुनाए । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ ।

‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित हुन्छ कि हुन्न भनी प्रश्न गरेका थिए । ‘कल सेन्टर’ का अधिकारीहरूले यसअघि नै तय भइसकेको परीक्षा निर्वाचन आचारसंहिताका कारण प्रभावित नहुने जवाफ दिएका थिए । बिहान ९ देखि ६ बजेसम्म ‘कल सेन्टर’ सञ्चालन हुने आयोगले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कुनै जानकारी चाहिएमा वा जिज्ञासा राख्न चाहेमा आजदेखि उम्मेदवार विजयी भएर प्रमाणपत्र नदिँदासम्म सञ्चालनमा आउने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।