पर्वतका कान्छा उम्मेदवार मनहरी : पर्वतको विकासमा कायापलट गर्ने भिजन र मिसन भएको नेता


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ ९

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पर्वतबाट उम्मेदवारी दिएपछि यतिबेला चर्चाको शिखरमा छन् मनहरी तिमिल्सिना । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस विज्ञ तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य उनी पर्वतमा कान्छा उम्मेदवार भएर मात्र चर्चाको शिखरमा आएका होईन, बरु पर्वतको विकासमा कायापलट गर्ने एक स्वप्न द्रष्टा भएकालेचाहिं उनको वाहवाही भएको हो ।

तिनै मनहरीले शुक्रबार पोखरामा पत्रकारसँग भलाकुसारी गरे । जहाँ उनले पर्वतको विकासको भिजन र मिसन स्पष्ट पारे । करीब एक घण्टा पत्रकारसँग साक्षात्कार गरेका उनले पर्वतको भुगोल, त्यहाँको समस्या र समाधानका उपायबारे आफ्नो धारणा राखे । विकासमा फड्को मार्न योजना बैंक निर्माण गर्नेदेखि प्रविधिको सदूपयोग गर्नेसम्म, अनि पर्वतवासीको समृद्दिको सपना पूरा गर्न उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र बजारीकरणमा प्रविधिको प्रयोग गर्नेसम्मका योजना सुनाए । उनले योजनासँगै त्यो योजना कार्यान्वयनको आधार पनि प्रस्तुत गरे ।

पर्वतको विकास र समृद्दिको आधारशिला निर्माण गर्न बजेट विनियोजनमा हस्तक्षेपकारी भूमिका खेल्नेदेखि पार्टीभन्दा माथि उठी जनतासँग जोडिएका उनी पर्वतका सबै पालिकाहरुको भुगोलबारे जानकार छन् । उनले पर्वतको विकासमा कायापलट गर्न सकिने भन्दै त्यसका लागि योजना बैंक बनाउने प्रतिबद्दता जनाए । उनले भने,‘शुरुमा वडामा सार्वजनिक सुनुवाई गरेर योजना छनौट गर्ने, त्यसपछि पालिकामा छलफल गरेर त्यहाँको बजेटले सक्नेजति त्यहिंबाट योजना बनाउँछ, पालिकाले नसक्ने जिल्ला समन्वय समितिमा पठाउने र जिससले योजना बैंक बनाउँछ । अर्कोतर्फ हामी एक्सपर्ट रोस्टर तयार गरेर उनीहरुलाई डेभलपमेन्ट समिट गर्छौं र उहाँहरुको एक्सपर्टिज्म उपयोग गर्नेगरी एक÷एक वटा योजना कार्यान्वयनका जिम्मा दिन्छौं ।’

जेनेरेसनको हिसाबले जेनवाई पुस्ताको रहेका उनले आफू जेनजी र जेनएक्स जोड्ने पुस्ता रहेको बताए । यसबारे उनले भने,‘अहिले समाजमा जेनजी र अर्को पुस्ताबीच विभाजन छ । तर त्यसलाई मिलाउने म जेनवाई पुस्ताको व्यक्ति हुँ, त्यो क्षमता र संकल्प मसँग छ ।’

उनले पर्वतमा शिक्षाको गुणस्तर सुधार्ने योजनासमेत आफूसँग रहेको दाबी गरे । सामुदायिक विद्यालयको गुणस्तर सुधार र डिजिटल प्रविधिलाई शिक्षासँग जोड्ने ‘सार्वजनिक शिक्षा गुणस्तर सुधार’ प्याकेज तयार गरेर लागु गरिरहेको उनको भनाई छ । उनले भने,‘पर्वतका ५० भन्दा बढी सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र सरोकारवालासँग अन्तरक्रिया गरी प्राथमिक तथ्याङ्क संकलन गरिसकेको र टिमवर्क निर्माण भइसकेको छ ।’

तिमिल्सिनाले पर्वतमा स्वास्थ्य सेवामा फड्को मार्न ‘मोबाइल डाक्टर सेवा’ सञ्चालन गर्न सकिने योजना सुनाए । स्वास्थ्य क्षेत्रतर्फ सरकारले सबै पालिकामा १५ शय्याको अस्पताल निर्माण गर्ने योजना ल्याए पनि व्यवहारिक चुनौती देखियो,उनले भने,‘यसको वैकल्पिक रूपमा मोवाईल डाक्टर सेवा सञ्चालन गरेर पर्वतेली जनतालाई स्वस्थता प्रदान गर्न सकिन्छ ।’

कृषि उत्पादनमा बाँदरको अवरोध रहेको भन्दै उनले यसको समाधान पनि आफूसँग रहेको उनले बताए । पर्वतमा बढ्दो बाँदर आतंक जिल्लाको गम्भीर समस्या हो,उनले भने,यो आतंक दीर्घकालीन समाधानका लागि विज्ञहरूसँग छलफल गरी विशेष योजना तयार गरिसकेका छौं ।’उनले बसाइँसराइ रोकथामका लागि समेत विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए ।

उम्मेदवार तमिल्सिनाले पर्वतमै आईसीटी हब स्थापना गर्ने आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै सो हब पीपीपी मोडेलमा सञ्चालन गरिने गर्न सकिने बताए । उक्त आईसीटी हबमार्फत हरेक वर्ष करिब पाँच सय युवालाई डिजिटल आम्दानीसम्बन्धी आवासीय तालिम दिइने, सामुदायिक विद्यालयका आईसीटी केन्द्रलाई प्राविधिक सहयोग, शिक्षक तालिम, स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन तथा मोबाइल डाक्टर सेवामा प्राविधिक सहयोग, र कृषिमा ड्रोन तथा आधुनिक प्रविधि प्रयोग गरिने योजना रहेको उनले स्पष्ट ।

तिमिल्सिनाले जनतासँग आफू नजिक रहेकाले आगामी निर्वाचनमा जित हाँसिल गर्ने दाबी गरे । आफू कसैलाई पनि नराम्रो भन्ने र आग्रह पूर्वाग्रह राखेर चुनावमा नजाने भन्दै उनले भने,‘यस पटक जनताले मलाई चुन्नेछन् । मैले लगाएको गुन पर्वतेली जनताले तिर्नेछन् । कथम्कदाचित जित्न सकिनँ भने पनि म मेरा भिजन र मिसन पूरा गर्न सँधै लाग्नेछु ।’

अन्तरक्रियाका क्रममा राजनीति र पत्रकारिता क्षेत्रमा सक्रिय अनुभव राखेका व्यक्तित्व मनहरि तिमिल्सिनाले आफ्नो अनुभवबारे जानकारी गराए। तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस संयोजकको रुपमा उनले २०७४ सालमा दोश्रो पटक प्रधानमन्त्रीको नीति योजना र प्रेस व्यवस्थापन सम्बन्धी क्षेत्रमा काम गरेको, त्यस क्रममा १८ महिनासम्म विज्ञ सल्लाहकारको रूपमा छोटो समय भए पनि महत्वपूर्ण काम गरेको अनुभव सुनाए। कार्यक्रमको क्रममा उनले आफ्नो कार्यकाल र उपलब्धि समेट्दै व्यक्तिगत दृष्टिकोण र अनुभव पनि साझा गरे।

अन्त्यमा तिमिल्सिनाले आगामी प्रतिनिधि सभा निर्वाचनमा तारा चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन मतदाता तथा आम नागरिकलाई आग्रह गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।