ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको छ ।
संघ, प्रदेश र स्थानीय तहमा विपद्सम्बन्धी सूचना एकीकृत रुपमा आदान–प्रदान गर्ने उद्देश्यसहित ब्यास नगरपालिकामा विपद् पोर्टल शुभारम्भ गरिएको हो।
नेपाल सरकारले राष्ट्रिय एकीकृत विपद् सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विपद् सूचना पोर्टलको विकास गरेको छ।
सोही बमोजिम नगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले मंगलबारदेखि उक्त पोर्टलको शुभारम्भ गरेको जनाएको छ। यस पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी साथै क्षमता र संशोधनका विभिन्न तथ्यांक र सूचना लिन सहज हुने ब्यास नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनीयर रवीन्द्रलाल मुलले जानकारी दिए ।
उक्त पोर्टलमा देखिएअनुसार विगत दश वर्षमा ब्यास नगरपालिकामा १९ घटना र ८ व्यक्तिको मृत्यु भएको छ । सन् २०२०/२०२१ फेुब्रअरीबीच ७ घटना भएकामा ५ व्यक्तिको मृत्यु भएको छ।
पोर्टलमा खासगरी आगलागी, चट्याङ, पहिरो आदिका घटना धेरै भएको देखिएको नगरपालिकाले जनाएको छ।
विपद् पोर्टलमा नेपाल सरकारका विभिन्न निकाय, विपद्मा कार्य गरिरहेका संघसंस्थाबाट तयार गरिएका सूचना तथा तथ्यांक रहेको हुँदा यसको सहयोगले नगरपालिकाको रणनीति योजना बनाउन सहज हुने ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए। नगरपालिकाले आवधिक रुपमा तथ्यांक प्रविष्ट गरी विपद् पोर्टलमा रहेको सूचना र तथ्यांकलाई थप अद्यावधिक गर्ने नगरप्रमुख न्यौपानेले प्रतिबद्धता व्यक्त गरे।
युथ इनोभेसन ल्याबका कार्यकारी निर्देशक प्रदीप खतिवडाले पोर्टलमा शिक्षा, स्वास्थ्य, वित्तीय संस्था, उद्योग, पर्यटन, सांस्कृतिक धरोहरलगायत नगरपालिकामा रहेका विभिन्न पूर्वाधारको सूचना संकलन भइसकेको हुँदा भविष्यमा हुने कुनैपनि विपद्का घटनालाई प्रतिक्रिया गर्न सहयोग पुग्ने जानकारी दिए। यसमा रहेका सूचना तथा तथ्यांकलाई आधार लिई नगरपालिकाले आफ्नो तयारी गर्न सक्ने र भविष्यमा हुनसक्ने जोखिमलाई पहिचान गरी दीर्घकालीन योजना बनाउने सक्ने उनले बताए।
विपद् पोर्टलको स्थानीयकरण युथ इनोभेसन ल्याबको प्राविधिक सहयोग र युएसएआइडीको आर्थिक सहयोगमा ब्यास नगरपालिकालगायत १३ अन्य पालिकामा काम भइरहेको छ।
स्थानीयकरण कार्य अन्तर्गत ल्याबले प्राविधिक इन्जिनीयरलाई ५ महिना ब्यास नगरपालिकामा खटाएको थियो। विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि चाहिने पूर्वतयारी, पूर्व चेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्नुका साथै यसले विपद् जोखिमको सञ्चार र विपद्पछिको घटनामा समन्वय गर्न र तथ्यमा आधारित रहेर विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित योजना तर्जुमा गर्न र स्थानीयस्तरमा सूचीत निर्णय लिन र नीति बनाउनसमेत मद्दत पु¥याउने बताइएको छ।
विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी जोखिम जस्तैः भारी वर्षा र बाढी, वातावरणीय जोखिम जलवायु प्रदूषण र भूकम्प जस्ता भूवर्गीय जोखिमको सूचना दिनुका साथै चेतावनी वा खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शीत हुने बताइएको छ। विपद् पोर्टलमा सन् २०११ देखिको क्षति र नोक्सानसम्बन्धी जानकारी समावेश गरिएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १३ नेवारी समुदायको परम्परागत गाईजात्रा पोखरामा पनि मनाइएको छ…





