कास्कीमा नेकपाका उम्मेदवार : मतदाताको सुझाव सुन्दै मत माग्दै


     एभरेस्ट आवाज    
     माघ २० गते २०८२ मा प्रकाशित




पोखरा, २० माघ
कसैलाई बाँदरले उठिबास लगाएको चिन्ता छ भने कोही बाटो कालोपत्र नभएको गुनासो गर्छन् । केही मतदाता देशमा रोजगारी र सुशासन नहुँदा अहिलेको अवस्था आएको गुनासो गर्छन् । सर्वसाधारणका यस्तै गुनासा सुन्दै नेकपा कास्कीका उम्मेदवारहरु चुनावी मैदानमा छन् ।
नेता, कार्यकर्ता चुनावका बेलामात्र गाउँघरमा देखिने गरेको पनि स्थानीयको गुनासो छ । मंगलबार मादीको मुंग्री बेंसीबाट गोर्जे, रवेडाँडा हुँदै गहतेको घरदैलोमा नेकपा कास्की १ का उम्मेदवार राजकाजी गुरुङ (करण) सहभागी बने । उनले संघमा साविक माओवादी केन्द्र नेतृत्वको सरकार हुँदा थुप्रै योजनामा बजेट राखेको स्मरण गर्दै यसपालि आफू र आफ्नो पार्टीलाई मतदान गर्न आग्रह गरे ।
‘कास्की १ मा २०६४ र २०६५ मा जस्तै यहाहरुको मत हामीलाई आवश्यक छ,’ उनले भने, ‘व्यवस्था हामीले फेरेका हौँ, हामी पुरानामध्ये नयाँ हौ, नयाँमध्ये पुराना हौँ । नेकपाकै नेतृत्वमा मात्र देशको समृद्धि सम्भव छ ।’ जनताको सरोकारका पूर्वाधार र रोजीरोटीका एजेन्डा उठाएर सधैं जनताकै साथमा रहने वाचा गरे । ‘जित्ने नै हो, जनताको हामीलाई साथ छ । हारे पनि जनताका एजेन्डा पूरा गर्न लाग्छौं ।’
कास्की २ का उम्मेदवार किरण थापा (आमोद) मंगलबार पोखरा २१ मा घरदैलोमा छन् । व्यावसायिक फलफूलखेतीसहित पर्यटनका योजना सुनाउँदै उनले जसको एजेन्डामा देशअघि बढेको छ, उसैको नेतृत्व हुनुपर्नेमा जोड दिए । ‘हाम्रो एजेन्डा हो संघीयता, नयाँ संविधान, गणतन्त्र,” उनले भने, ‘हाम्रै नेतृत्वमा मात्र यो व्यवस्था सफल हुन सक्छ ।’ कास्की कसैको गढ भन्ने नरहेको जनाउँदै उनले पुराना गढहरु भत्किएको र जनताले संविधानको रक्षा र परिवर्तनको एजेज्डा बोकेको नेकपासँग धेरै अपेक्षा राखेको पाएको सुनाए ।
कास्की क्षेत्र नम्बर ३ मा मंगलबार प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फका उम्मेदवार गोपाल गिरी र समानुपातिक उम्मेदवारकृष्ण नेपालीसहित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ र ७ मा सम्पर्क कार्यालय स्थानासँगै घरदैलोमा छन् । उम्मेदवार गिरीले आफूले स्थानीयका समस्या राम्ररी बुझेको जनाउँदै समाधानको खाकासमेत भएको जनाए । ‘बाँदर नियन्त्रण गर्न पनि तपाईहरुकै सुझावअनुसार अघि बढ्छु । शिक्षा, स्वास्थ्य, रोजगारको अधिकार प्रत्याभूति गर्न नीति निर्माणमा लाग्छु,’ उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।