नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षभित्र मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन चाहेको बताएका छन् ।
काठमाडौँको राष्ट्रिय सभागृहमा आज ‘हाम्रो प्रतिज्ञा तपाईँको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा सभापति थापाले भने, “कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनिक पदमा बस्ने अधिकार छैन ।”उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । सभापति थापाले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए ।
उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए । उनले नागरिकले जति समयमा सेवा पाउनुपर्ने हो उल्लेख गर्नुपर्ने र ढिला भएमा क्षतिपूर्ति पाउने व्यवस्था गराउनुपर्ने बताए । उनले भने, “सार्वजनिक सेवामा कुनै पनि कुरा एक दिनमा बनाइनेछ भन्यो भने त्यो एकै दिनमा बनाइनुपर्छ ।” सभापति थापाले डिजिटल सार्वजनिक सेवा सातै दिन, २४सै घण्टा र सेवामा ढिला सुस्ती भएमा नागरिकलाई क्षतिपूर्तिलगायतका व्यवस्था कांग्रेसले योजनाबद्ध रूपमा अगाडि सारेको बताए ।
उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता, नयाँ पुस्तामा बढ्दो असन्तुष्टि र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न परिपक्व नेतृत्व आवश्यक रहेको बताए । आज धरानमा नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनले वर्तमान परिस्थितिमा जिम्मेवार र अनुभवी राजनीतिक दलले देशको नेतृत्व गर्नुपर्ने धारणा राखे । उपसभापति शर्माले ‘जेनजी’ आन्दोलनलाई नयाँ पुस्ताको चेतना, अपेक्षा र असन्तुष्टिको संकेतका रूपमा उल्लेख गर्दै त्यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए ।
समस्याको मूल कारण पहिचान गरी समयमै समाधान गर्न नसके भविष्यमा अझ अर्को विद्रोह हुन सक्ने उनको भनाई थियो ।उनले भने, “यस्तो बेला अनुभवहीनको हातमा नेतृत्व सुम्पिनु भन्दा परिपक्व राजनीतिक शक्तिले जिम्मेवारी लिनु जरुरी छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरूको साझा मञ्च जनप्रिय अल्मुनाइ एसोसिएसनको…






