गण्डकीका मुख्यमन्त्री पाण्डे गोरखामा,लहलहैको भरमा मतदान नगर्न आग्रह


     एभरेस्ट आवाज    
     फागुन १० गते २०८२ मा प्रकाशित




गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सिद्धान्त नै नभएका केही पार्टीहरु जनता झुक्याउँन सक्रिय भएको बताएका छन् ।

गोरखामा चुनावी अभियानका क्रममा रहेका उनले विचार, दृष्टिकोण केही नभएका पार्टीहरूलाई लहलहैको भरमा मतदान नगर्न आग्रह गर्दै खुला किताबजस्तै नीति भएको कांग्रेसलाई मतदान गर्न अपिल गरे ।उनले भने ‘मसँग तपाईँको केही गुनासो छ भने सोध्नुहोस्, मलाई मात्र होइन नेपाली कांग्रेसका उम्मेदवार, पार्टीका नेतासँग केही छ भने भन्नुहोस्, हामी प्रश्नबाट भाग्दैनौँ’ गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री पाण्डेले भने, ‘प्रश्नबाट भाग्ने, केही पनि भएन भन्ने भाष्य बनाएर झुटको खेती गर्नेसँग सचेत रहनुहोला र भन्नुहोला, के ग¥यो भन्न पाउने अधिकार नै नेपाली कांग्रेसले ल्याइदिएको हो ।’

विगतमा भएका कमजोरीलाई सुधार गर्दै नेपाली कांग्रेस अघि बढ्ने बताउँदै उनले देशलाई संकट परेको बेला हरेक कालखण्डमा कांग्रेसको नेतृत्वले निकास दिएको स्मरण गराए ।प्रदेश सरकारको नेतृत्व आफूले गरेपछि आर्थिक वर्ष २०८०÷८१, २०८१÷८२ र २०८२÷८३ मा सडक, खानेपानी, सिंचाइ, सामाजिक, पर्यटन, स्वास्थ्य लगायत सबै क्षेत्रमा विनियोजन गरेको बजेटको विस्तृत विवरण बोकेर मतदाता कहाँ पुगेका उनले काम हेरेर कांग्रेसका प्रतिनिधिलाई मत दिन अपिल गरे । ‘तपाईँले गरेको मतदानबाट मेरा क्रियाकलापका कारण कसैले पनि शिर निहुराएर हिँड्नु परेको छैन, भोलिका दिनमा पनि हिँड्नुपर्ने छैन’ उनले थपे, ‘त्यही शिर निहुराउन नपर्ने काम हाम्रा उम्मेदवार प्रकाशचन्द्र दवाडीले पनि गर्नेछन्, त्यही विश्वासका साथ रुखमा मतदान गर्नुहोस् ।’

मुख्यमन्त्री पाण्डेले आफूले चुनावमा गरेको वाचा पूरा गर्न उन्मुख रहेको बताउँदै भने, ‘निर्वाचन क्षेत्रभित्रका मुख्य–मुख्य सडक बाह्रै महिना गाडी चल्ने बनाउँछु भनेको थिएँ, भएको छ, हुने क्रममा छ ।’ कांग्रेसका उम्मेदवारले जे बोल्छ, त्यो गर्छ भन्ने सन्देश दिँदै उनले थपे, ‘देशको हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गरेको छ । अहिले देशको अवस्थालाई ठीक दिशा दिन पनि कांग्रेसको नेतृत्वको विकल्प छैन ।’ कांग्रेसका कुनै कार्यकर्ता पनि विचलित हुनुपर्ने कारण नभएको बताउँदै उनले भने, ‘प्रत्येक कांग्रेसका साथीहरू, मतदाताहरू शिर ठाडो गरेर भनौँ ‘हरेक परिवर्तनको नेतृत्व हिजो, आज र भोलि पनि कांग्रेसबाट मात्र सम्भव छ ।’

आफूले नेतृत्व गरेको गण्डकी प्रदेश सरकारले सुशासनलाई प्रमुख मुद्दा बनाएको मुख्यमन्त्री पाण्डेले बताए । ‘प्रदेशका विषयमा पनि प्रश्नहरू उठे, खर्च धेरै भयो भन्ने १ हामीले खर्च कटौतीको काम १ वर्षअघि देखि थालेका थियौँ’ उनले भोट माग्ने क्रममा मतदातासँग भने, ‘भदौ २३–२४ मा युवाहरूले नारा लगाउनुभन्दा पहिले नै ती नाराहरूलाई सम्बोधन गर्ने प्रयास गण्डकी प्रदेशले गरेको थियो ।’ प्रदेश सरकारले प्रशासनिक खर्च कटौती, कर्मचारी दरबन्दी कटौती, मन्त्रालय पुनर्संरचना, कार्यालय मर्ज लगायतका काम गरेर वार्षिक ५० करोड खर्च बचत गरेको उनले बताए ।

गण्डकी प्रदेश सरकारले युवा लक्षित रोजगारी, कृषिको व्यवसायीकरण, दलित उत्थान र सशक्तीकरणका लागि ऐन निर्माण, गुरुङ–मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने जस्ता समावेशी र नागरिक उत्तरदायित्वका काम गरेको उनले बताए । युवाहरूलाई स्वरोजगार बनाउन राइड सेयरिङ नियमावली कार्यान्वयनमा जोड दिएको उनले बताए । अस्पतालको बेड र विशेषज्ञ सेवा विस्तार, निःशुल्क र पालो कुर्नु नपर्ने डायलाइसिस सेवा प्रदेश सरकारको प्राथमिकतामा छ ।

गोरखामा अन्यत्रभन्दा फरक शैलीमा नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मत मागिरहेका छन् । दुईवटा रेकर्ड फाइलमा प्रदेश सरकारले विगत ३ वर्षमा ल्याएको बजेटको फेहरिस्त छ । ‘प्रदेश सरकारको रातो किताबमा गोरखा जिल्लामा विनियोजन गरेको बजेटको एक–एक हिसाब मसँग छ’ सूची देखाउँदै मुख्यमन्त्री पाण्डे भन्छन्, ‘तपाईँहरूको सबै माग पूरा भयो त म भन्दिनँ, तर धेरै भएको छ । गोरखामा मात्र होईन प्रदेशभर भएको छ । कांग्रेसका प्रतिनिधिको नेतृत्वमा भएको हो, त्यसैले बाँकी काम गर्न प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउनुहोस् । सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस् ।’

निर्वाचन आयोगबाट अनुमति लिएर मुख्यमन्त्री पाण्डे चुनावी कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थिए ।कांग्रेसले गोरखा २ मा प्रकाशचन्द्र दवाडी र १ मा प्रेम खत्रीलाई उम्मेदवार बनाएको छ । चुनावी कार्यक्रम अवधिभर पालुङटार १, खोप्लाङस्थित घरमा बसेका उनले निजी नम्बर प्लेटको सवारी साधन प्रयोग गरेर चुनावी कार्यक्रममा सहभागी भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।