रास्वपा कास्की उपसभापति राइले छाडे पार्टी, रास्वपालाई लाग्ला धक्का ?


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन १४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की उप–सभापती राजु राईले पार्टी छाडेका छन् । २०७९ को प्रतिनिधि सभा सदस्यको चुनावमा कास्की–१ का रास्वपा उम्मेदवार राईले विहीबार सामाजिक सञ्जालमा दुःखेसो पोख्दै पार्टी छाडेका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘ आजदेखि राजनीति र पार्टीको लागि एक कौडी पैसो र एक सेकेन्ड समय पनि खेर फाल्ने छैन । अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

प्रतिनिधि सभा सदस्यको निर्वाचन–२०८२ मा पार्टीले गरेको उम्मेदवार चयनप्रति उनी असन्तुष्ट थिए । अघिल्लो चुनावमा राम्रो मत प्राप्त गरेका उनी यस पटक पनि उम्मेदवारको आकांक्षी थिए । तर पार्टीको संस्थापक र अघिल्लो पटक राम्रो मत ल्याए पनि उनको सट्टामा पार्टीले गनेस पौडेललाई टिकट दिएको थियो । रवि लामिछाने निकट उनलाई टिकट नदिई बालेन कोटाबाट गनेसलाई टिकट दिएपछि उनीसहित कास्कीका पुराना रास्वपा नेता कार्यकर्ता असन्तुष्ट छन् । २०७९ मा रास्वपा उम्मेदवार राईले त्यसबेला १० हजार ९ सय ४१ मत प्राप्त गरेका थिए । समानुपातिकमा भने सो क्षेत्रमा रास्वपाले १५ हजार ८ सय ६४ मत ल्याएको थियो ।

रास्वपाले पैसामा टिकट बेचेको आरोप लागिरहँदा उनले पनि सोहि आसय व्यक्त गरेका छन् । ‘नेता चिन्नु पर्ने र टिकट किन्नु पर्ने पार्टीलाई भोट दिनु भनेको आफ्नै टाउकोमा ऋण लगाउनु हो ।’ उनले पार्टी हाईज्याक भएकाले पार्टी छोड्ने निश्कर्षमा पुगेको बताएका छन् । पार्टी हाईज्याकहुँदा टिकट किन्ने र बेच्ने अवस्थामा पुगेको बताउँदै उनले टिकट नै किन्ने र नेताको वरपर गणेश पुजा गरेर टिकट पाउने अवस्था रहने हो भने नया पार्टीको औचित्य नरहने बताए । नेता नचिनी कामको मूल्याङ्कन र योगदानको कदर हुने विश्वासले लागे पनि त्यस्तो नभएपछि पार्टी छाडेको उनको प्रष्टिकरण छ ।

अघिल्लो पटकको निर्वाचनका उम्मेदवार र जिल्ला पार्टी उपसभापतीले नै पार्टी छाडेपछि कास्की १ मा रास्वपालाई नराम्रो धक्का लाग्ने भएको छ । यसले पुराना पार्टीलाई नै फाइदा पुग्ने विश्लेषण गरिन थालेको छ ।

कास्की–१ मा मात्रै होईन, कास्की २ र ३ मा पनि रास्वपा नेता÷कार्यकर्तामा चरम निराशा छ । अघिल्लो चुनावका उम्मेदवारलाई यस पटक उम्मेदवार नबनाएको तथा पार्टीमा योगदान गर्नेको मूल्याङ्कन नभएको उनीहरुको गुनासो छ । यद्वपी उनीहरु भने पार्टी छाड्ने तहसम्म नपुगेको रास्वपाका एक नेताले बताए । ‘कास्की ३ मा पनि टिकट किनेर ल्याएको हल्ला छ, दुईमा त १० वटा वडाध्यक्षले उम्मेदवारको योग्यता नपुग्ने भनेर सभापतीलाई चिठी लेखेरै पठाएका थिए । तर चुनावको मुखमा त्यसलाई उछाल्नेगरी कोहि पनि लाग्दैनन् होला’–उनले भने ।

कास्की २ मा रास्वपाले उत्तम पौडेललाई उम्मेदवार बनाएको छ भने कास्की ३ मा बिना गुरुङलाई उम्मेदवार बनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।