नेपालका खिमकाजी लामिछानेको फोटो ‘युरोरडिस फोटो अवार्ड’मा दोस्रो


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




नेपालका खिम लामिछानेको फोटो ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा दोस्रो भएको छ।

दुर्लभ रोग लागेर जीवन बिताउन बाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछानेको फोटोले दोस्रो भएको हो।

गएराति बेल्जियमको ब्रसेल्समा भएको अन्तिम प्रतियोगितामा उनले दोस्रो स्थान हासिल गरेका हुन्।

विभिन्न ३० मुलुकका ४ सय भन्दा बढी फोटोपत्रकारले खिचेको २ हजार ७३ फोटो प्रतियोगितामा समावेश भएको जनाइएको छ। प्रतियोगितामा स्लोभाकिया प्रथम र आइसल्याण्ड तृतीय भएको थियो।

सजिलै हाड भाँचिने रोग (ओस्टियो नेनेसिस इम्पेर्फेक्टा–ओआई) बाट पीडित आफ्नै छोरा अनिमेसलाई दुर्गा केसी ह्विलचियरका सहायताले विद्यालय पु¥याउँदै गरेको फोटो छामिछानेले प्रतियोगिताका लागि पठाएका थिए।

११ वर्षीय छोरा अनिमेसको अहिलेसम्म ४० पटक हाड भाँच्चिसकेको बताइएको छ। ओआईबाट ग्रसित भई हिँडडुल गर्न नसकेपनि पढ्ने ईच्छालाई रोक्न नसक्ने सन्देश लामिछानेले कैद गरेको फोटोले दिएको थियो।

फोटोको माध्यमबाट नेपाललाई विश्वसामु परिचित गराउन सफल भएकोमा लामिछानेले खुशी व्यक्त गर्दै भनेका छन्, ‘सफलताका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई आभाव व्यक्त गर्दछु ।’

फोटोका माध्यमबाट ओआई रोगको बारेमा स्वदेश र विदेशमा जनचेतना अभिवृद्धि गर्न आफ्नो लागि महत्वपूर्ण उपलब्धि भएको उनले बताए।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।