फाईल फोटो
शिशिर उजाड
पोखरा
आगामी बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा भोट हाल्नको लागि मतदाताहरू आ आफ्ना मतदानस्थल तर्फ फर्कन थालेका छन् ।
बिशेष गरी देशका बिभिन्न शहरमा अस्थायी रुपमा पेशा, व्यवसाय गरी बसेकाहरु निर्वाचनको छेकोमा मताधिकार प्रयोगसँगै, लामो विदाको उपयोग गर्न आफ्नो क्षेत्रमा फर्कन थालेका हुन् । काठमाण्डौं उपत्यकामा मात्र नभई देशका प्रमुख शहरका बस स्टपमा यतिबेला टिकट काट्नेको भीड देख्न सकिन्छ । उपत्यकाका नाकाहरूमा गाउँ फर्किने मानिसहरूको भीड नै लाग्ने गरेको छ । अधिकांश रिजर्भ गाडीले मतदाता ओसारिरहेका छन् । कोटेश्वर, जडीबुटी, बसपार्क र नाकामा क्षेत्रमा बिहानैदेखि मानिसहरूको भीड लागेको छ ।निकै भिडभाड र चहलपहल देखिने पोखरा पनि बिस्तारै सुनसान जस्तै देखिन थालेको छ ।
सोमबारसम्म दलहरुको चुनावी अभियानले भीडभाड जस्तै भएको पोखरा मंगलबार देखि सडकमा चहल पहल अन्य दिनको तुलनामा कम देखिएको छ । पोखरामा अस्थायी रुपमा बसोबास गर्ने व्यवसायीहरु आफ्नो मताधिकार प्रयोग गर्न गाउँ र जिल्ला जान थाले पछि पोखरामा चहलपहल बिस्तारै कम हुन थालेको हो । पोखरामा बसोबास गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि सुनसान बन्न थालेको हो ।
निजी विद्यालयमा आज पनि पठन पाटन जारी रहेको र भोलिबाट सरकारले चुनावी विदा दिएका कारण पनि आफ्ना बच्चा बच्ची पढाउन पोखरामा बसेकाहरु गाउँ जाने तरखरमा रहेका छन् । भोलिबाट फागुन २४ गतेसम्म लगातार विदा परेका कारण पनि अधिकांश व्यक्तिहरु मताधिकारको प्रयोगसँगसँगै, भेटघाट गर्ने मुडमा देखिएका छन् ।अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि पोखरामा बस्दै आएका छन् ।
त्यस्तै, बाहिरबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत पोखरामै बसोबास गर्ने गर्छन् ।कर्मचारीहरु पनि मतदान केन्द्रमा खटिई सकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तमु जातिको ऐतिहासिक थलो क्होला सोंथरमा भ्रमण वर्ष २०२६ सम्पन्न भएको छ…






