कास्कीको रुपा गाउँपालिकाले खेलकुदको गतिविधि गर्दै स्थापना दिवस मनाउने भएको छ । रुपा गाउँपालिकाले भलिबल प्रतियोगिता, झाँकी प्रतियोगिता, माला प्रतियोगितालगायतका कार्यक्रम गर्दै चौथो स्थापना दिवस मनाउने पोखरामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ । फागुन २४ गतेदेखि हुने प्रतियोगिता फागुन २७ गतेसम्म हुने जनाइएको छ । प्रतियोगितामा देशभरका टीमहरुले सहभागिता जनाउन सक्ने रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
प्रतियोगिताको उपाधि बिजेतालाई ८० हजार, उपबिजेतालाई ६० हजार, तृतीय हुनेलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बेस्ट स्पाइक, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रोलाई ३ हजार तथा अनुशासित टीमलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष नवराज ओझाले बताए ।
रुपाले स्थापना दिवसको अवसरमा झाँकी प्रतियोगितासमेत गर्ने भएको छ । स्थापना दिवसको अवसरमा फागुन २७ गते निकालिने झाँकी प्रदर्शनमा सहभागि मध्ये उत्कृष्ट हुने झाँकीलाई नगद ३५ हजार, द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई नगद १५ हजारसहित ट्रफी प्रदान गरिने भएको छ । लोपोन्मुख जातजातिहरुको संस्कृति परम्परालाई जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले झाँकी प्रतियोगिता गर्न लागिएको अध्यक्ष ओझाले जानकारी दिए ।
त्यस्तै, स्थापना दिवसको अवसरमा माला प्रतियोगिता पनि आयोजना गरिने भएको छ । माला बनाउन जागरुक बनाउने उद्धेश्यले आयोजित प्रतियोगिताको बिजेतालाई ४ हजार, द्वितीयलाई ३ हजार र तृतीय हुनेलाई २ हजारसहित ट्रफी प्रदान गरिने अध्यक्ष ओझाले जानकारी दिए ।
यसैबीच, रुपा गाउँपालिकाले स्थापना दिवसको अवसरमा राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षण र संवद्र्धनमा योगदान दिने गाउँपालिका भित्रका लेखक, साहित्यकार तथा विभिन्न विधाबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई जनही १५ हजार १ सय १ सहित ताम्रपत्र र दोषल्ला ओढाएर सम्मान गरिने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







