पोखरा । कास्की १ बाट नव निर्बाचित प्रतिनिधि सभा सदस्य खडगराज पौडेल (गनेस) ले आगामी पाँच वर्ष आफूले कुनै पनि प्रकारको सोर्स–फोर्स, भनसुन वा व्यक्तिगत प्रभाव प्रयोग नगर्ने लगायत १३ बुदें घोषणा गरेका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको घोषणामा उनले पारिवारिक, सामाजिक वा राजनीतिक सम्बन्धको आडमा जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन आग्रह नगर्न आग्रह गरेका छन्। त्यस्तै आफ्ना वा आफन्तका बालबालिकालाई स्कुल–क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन, ट्राफिक नियम उल्लङ्घनपछि कारबाहीबाट बचाइदिन तथा विभिन्न कानुनी मुद्दामा हस्तक्षेप गर्न नसक्ने स्पष्ट पारेका छन्।
उनले लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करी जस्ता अपराधका घटनामा भनसुन नगर्ने र महिला, दलित, यौनिक अल्पसंख्यक तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसाका घटनामा उल्टै कडाइका साथ उभिने बताएका छन्।
त्यसैगरी ठेक्कापट्टा तथा टेन्डर मिलाइदिन, विश्वविद्यालय वा प्रज्ञा प्रतिष्ठान जस्ता संस्थामा मनोनयनका लागि दबाब दिन, सरकारी सेवा छिटो गराइदिन सर्टकट खोज्न सहयोग माग्न तथा सरकारी स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराइदिन आग्रह नगर्न पनि उनले बताएका छन्।
पौडेलले विकास बजेट समानुपातिक र योजनाबद्ध रूपमा वितरण हुनुपर्ने धारणा व्यक्त गर्दै सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दबाब दिन वा बदला लिन सहयोग नमाग्न पनि आग्रह गरेका छन्।
त्यस्तै “मैले तपाईंलाई भोट हालेको हुँ” भन्दै बिहेवारी, व्रतबन्ध, पास्नी वा भोजजस्ता कार्यक्रममा निमन्त्रणा नगर्न अनुरोध गर्दै उनले दुःख–सुखका अवस्थामा भने सम्भव भएसम्म आफैँ उपस्थित हुने बताएका छन्।
(अबका ५ वर्ष (तपाईँले र) मैले नगर्ने काम :
१. मसँग भएको पारिवारिक, सामाजिक, राजनीतिक वा मित्रताको सम्बन्धको आड लागेर आफू वा आफन्तलाई जागिर, नियुक्ति, सरुवा वा बढुवा मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
२. आफ्ना वा आफन्तका बाबुनानीलाई कुनै पनि स्कुल वा क्याम्पसमा स्कलरसिपमा भर्ना गराइदिन नभन्नु होला ।
म गर्दिनँ ।
३. ट्राफिक नियम उल्लङ्घन गरेपछि कारबाहीबाट बच्न सोर्स–फोर्स लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
४. लागूऔषध ओसारपसार, ठगी, जालसाजी, कुटपिट, चोरी–तस्करी जस्ता कुनै पनि केसमा भनसुन वा त्यस्तै, कुनै पनि प्रकारको जरिवाना वा कानुनी कारबाहीबाट बचाइदिन पनि नभन्नु होला ।
मान्दिनँ ।
५. महिला, दलित, यौनिक अल्पसंख्यक, आङ्गता भएका व्यक्ति लगायत सिमान्तकृत समुदायमाथि भएको कुनै पनि हिंसा वा ज्यादतीको केस थामथुम पार्न सहयोग नमाग्नु होला ।
म उल्टै खनिन्छु ।
६. जुनसुकै व्यक्तिका ठेक्कापट्टा, टेन्डर मिलाइदिन वा भइसकेका सम्झौताका गैरकानुनी केस मिलाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
७. विश्वविद्यालय, प्रज्ञा प्रतिष्ठान वा यस्ता संस्थाहरूमा हुने मनोनयनका लागि अनुरोध नगर्नु होला ।
यी संस्थाहरू स्वायत्त र राजनीतिमुक्त हुनुपर्छ भन्ने मेरो धारणा छ।
८. मलाई सोझै वा मेरो परिवार वा साथीहरूलाई आर्थिक वा अन्य प्रलोभनमा पारी काम लिन सकिन्छ भन्ने नठान्नु होला ।
त्यसले झन् उल्टो असर गर्छ ।
९. सरकारी सेवा छिटो गराइदिन दबाब दिन वा नागरिकता, सिफारिस, लाइसेन्स, अनुदान जस्ता सरकारी प्रक्रियामा shortcut खोज्न सहयोग नमाग्नु होला ।
म गर्दिनँ ।
१०. सरकारी स्रोतसाधन निजी प्रयोगका लागि मिलाइदिन वा लगाइदिन नभन्नु होला ।
म गर्दिनँ ।
११. विकास बजेट आफ्नै टोल वा गाउँमा मात्र हालिदिन नभन्नु होला ।
विकासको वितरण समानुपातिक र योजनाबद्ध हुनुपर्छ।
१२. सरकारी पद वा अधिकार प्रयोग गरेर कसैलाई दुःख दिन, दबाब दिन वा बदला लिन सहयोग नमाग्नु होला ।
म त्यस्तो राजनीतिमा छैन ।
१३. “मैले तपाईंलाई भोट हालेको हुँ नि!” भनेर बिहेवारी, व्रतबन्ध, पास्नी, भोज आदिमा नबोलाउनु होला ।
म भ्याउँदिनँ ।
अन्य दुःख वा मरण परेको बेला भने भ्याएसम्म आफैँ आउँछु, बोलाउन पर्दैन ।)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरास्थित भद्रकाली बहुमुखी क्याम्पसमा वार्षिक खेलकुद कार्यक्रम बिहीबारबाट सुरु भएको छ ।…






