कास्कीका प्रमुख जिल्ला अधिकारी ढकालको सरुवा, कास्कीमा थानेश्वर गौतम आउने

- गृहमन्त्रालयद्वारा ३६ जिल्लाका सिडियो हेरफेर


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित




पोखरा । जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको सरुवा भएको छ । ढकाललाई जिल्ला प्रसासन कार्यालय धादिङमा सरुवा गरिएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार बसेको मन्त्रीस्तरीय निर्णयबाट कास्कीको प्रमुख जिल्ला अधिकारीमा थानेश्वर गौतमलाई पठाउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आउन लागेको गौतम यसअघि गृहमन्त्रालय सिंहदरवारमा कार्यरत थिए ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा, बाग्लुङ्का सुरेश न्यौपानेलाई सिन्धुली , सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाराका प्रजिअ दीपकराज नेपाललाई स्याङ्जा सरुवा गरिएको छ ।

गोरखाका देवी पाण्डेलाई पर्वतमा र पर्वतका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई मन्त्रालयमा ल्याइएको छ । म्याग्दीका उमाकान्त अधिकारीलाई काठमाडौँको सहायक प्रजिअमा लगिएको छ ।

सिन्धुपाल्चोकबाट उमेशकुमार ढकाललाई प्रजिअ सुनसरीमा पठाइएको छ भने सुनसरीका प्रजिअ फिणिन्द्रमणि पोखरेललाई सप्तरी पठाइएको छ ।

इलामका तुलसीराम सेढाईलाई उदयपुर, सल्यानका प्रजिअ हेमराज तामाङलाई अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।

उदयपुरका प्रजिअ चक्रपाणि पाण्डेलाई कपिलबस्तु पठाइएको छ । दैलेखका सन्तबहादुर सुनारलाई बर्दिया, चितवनका नारायणप्रसाद भट्टराईलाई सर्लाही र सर्लाहीका सुरेन्द्र पौडेललाई बारा सरुवा गरिएको छ ।

कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेललाई दाङ र दाङका सहसचिव जयनारायण आचार्यलाई मन्त्रालयमा काज खटाइएको छ ।

काभ्रेपलाञ्चोकका प्रजिअ लक्ष्मदेवी होमागाईलाई सल्यान, मन्त्रालयका प्रेमलाल लामिछानेलाई प्रजिअको रुपमा चितवन र गृहकै वासुदेव घिमिरेलाई दोलखा पठाइएको छ ।

यस्तै बाँकेका प्रजिअ हरिबहादुर प्याकुरेललाई दैलेख, जिल्ला प्रशासन कार्यालय काठमाडौँका जीवनप्रसाद दुलाललाई नुवाकोटको प्रजिअमा खटाइएको छ । नुवाकोटका प्रजिअ झङ्कनाथ ढकाललाई अध्यागमन विभागको निर्देशकमा ल्याइएको छ ।

रुद्रबहादुर मल्ललाई धादिङबाट अछामको प्रजिअमा, लहानबाट प्रेमप्रसाद देवकोटालाई जाजरकोटको प्रजिअमा पठाइएको छ ।

आजको गृहमन्त्रीस्तरीय निर्णयले उहाँहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।