प्रधानमन्त्री ओलीले भोलि पोखरा रंगशालाको अवलोकन गर्ने


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने भएका छन् । गण्डकी प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउन लागेका नेकपा ओली समूहका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यहि मौका पारेर पोखरा रंगशालाको अवलोकन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो पोखरा रंगशालाको अवलोकन गर्ने कार्यतालिका तय भएको राखेप सदस्य तथा प्रधानमन्त्री ओली निकट राजेशकुमार गुरुङले बताए । उनका अनुसार प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षण कार्यक्रममा मन्तव्य राखेर सिधै रंगशाला पुग्नेछन् । त्यहाँ उनले भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, बहुउद्देश्यीय कभर्ड हलहुँदै फुटबल स्टेडियम, फुटबल टेक्निकल सेन्टर, क्रिकेट मैदान, स्विमिङ पुल निर्माण स्थल, लन टेनिस, स्क्वास, आर्चरीलगायतका खेल मैदानको अवलोकन गर्नेछन् । लगत्तै उनी पोखरा एयरपोर्ट पुगेर काठमाडौं फर्किने कार्यतालिका रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको अवलोकन गर्ने तालिका तय भएपछि रंगशाला प्रवेश द्वार र फुटबल स्टेडियम प्रवेश द्वारमा प्रधानमन्त्री ओलीले फुटबल हान्दै गरेको तस्बिर अंकित फ्लेक्स राखेर स्वागत द्वार सजाइएको छ । उसो त तयारीका लागि राखेप सदस्य सचिव रमेशकुमार विष्टसहित राखेप सदस्यहरु राजेशकुमार गुरुङ, सुवर्ण श्रेष्ठलगायत खटिएका छन् । यसैबीच, सोमबार प्रधानमन्त्रीले रंगशालाको अवलोकन गर्न लागेपछि त्यसको तयारीबारे मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलेसमेत रंगशाला पुगेर जानकारी लिएका छन् । तयारीबारे बुझ्न मुख्यमन्त्री गुरुङ आईतबार अपराह्न रंगशाला पुगेका थिए ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालामा निर्माण भएको पूर्वाधार देखाउँदै बाँकी पूर्वाधार निर्माण गर्नका लागि आवश्यक बजेट थप गर्नका लागि प्रधानमन्त्री ओलीलाई पोखरा रंगशालाको अवलोकन गराउन लागिएको बताए । हाम्रो उद्धेश्य भनेको हामीले पोखरा रंगशालामा बनाएको पूर्वाधार देखाउनु हो, उनले भने,‘त्यसपछि निर्माणाधीन पूर्वाधार र निर्माण गर्न बाँकी पूर्वाधार देखाएर ती पूर्वाधार पूरा गर्नका लागि बजेट आवश्यक प¥यो प्रधानमन्त्री ज्यू भन्नूपनि हो ।’ ‘नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणका लागि बजेट निकासामा सहज हुने अपेक्षाका साथ प्रधानमन्त्रीलाई रंगशाला अवलोकन गराउन लागिएको हो’–उनले भने ।

राखेप सदस्य राजेशकुमार गुरुङले खास गरेर पोखरा रंगशालामा फ्लड लाइट हाल्ने तथा स्वीमिङ पुल र सुटिङको लागि आवश्यक पूर्वाधार निर्माण गर्नका लागि बजेट चाहियो भनेर आग्रह गर्ने तयारी रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।