पोखराको काउँरेमा पञ्चमुखी हनुमानको विशाल मुर्ति स्थापना,पोखराको धार्मिक पर्यटनमा थप टेवा पुग्ने अपेक्षा


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १९ मा पञ्चमुखी हनुमानको विशाल मुर्ति स्थापना गरिएको छ ।

१७ फिटको शिलाबाट निर्माण गरिएको सो मुर्तिलाई सोमबार धार्मिक अनुष्ठानसहित प्राण प्रतिष्ठा गरिएको हो । पुरञ्चौरको उपल्लो काउरेस्थित आनन्दधाममा स्थापना गरिएको वजरंगबली संकटमोचन महावीर अहिरावण वधकारी पञ्चमुखी पवन पुत्र श्री हनुमान जीको मूर्तिको प्राण प्रतिष्ठा पश्चात् नगर प्रमुख धनराज आचार्यले अनावरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले पोखरा प्राकृतिक मात्र नभई सांस्कृतिक र धार्मिक दृष्टिले पनि महत्वपुर्ण स्थल रहेको बताए । उनले विशाल मुर्तिको स्थापनासँगै पोखराको धार्मिक पर्यटनमा अर्को ईट्टा थपिएको बताए । कार्यक्रमको संयोजन समेत गरेका पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस क्षेत्रको धार्मिक पर्यटन विकासमा स्थानीय सरकारले भुमिका खेल्ने बताए । उनले वडाभित्र देखिएका विकास निर्माणका समस्याप्रति नगर प्रमुख आचार्यको ध्यानाकर्षण समेत गराएका छन् ।

धार्मिक अनुष्ठानमा भारतको ऋषिकेशबाट सहभागि सन्त शान्ति प्रियानन्द, अमृतानन्द पुरी,विश्व हिन्दु महासंघ, नेपालका शकंर खराल, धार्मिक व्यक्तित्व सुशीला पाठक, मन्धिरा पाठकलगायतले नेपालमै पहिलो विशाल मुर्तिको स्थापनाले यस क्षेत्रको धार्मिक गौरव बढेको बताए । आनन्द धामका अध्यक्ष एवं मन्दिरका संकल्पकर्ता राम प्रपन्नाचार्य ऋषि गुरुले यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्धन गर्न विशाल पञ्चमुखी हनुमानजीको मुर्ति राख्न संकल्प गरेको र त्यो पुरा भएको बताए । उनले यस क्षेत्रलाई आनन्द धामको रुपमा विकास गरी त्यहाँ योग साधनासहित बिभिन्न धार्मिक प्रवद्धनात्मक कार्यक्रम गरिने स्पष्ट पारे । हनुमान चालिसा पाठ सहित गरिएको कार्यक्रमको संचालन खिमलाल बाँस्तोलाले गरेका थिए ।

सो अवसरमा दुर्गा पञ्चायन मन्दिरदेखि विशाल शोभा यात्रा, लक्ष्यदिप प्रज्वलन, हवन, रुद्री तथा अन्य विधिका साथ पूजाआजा लगायतका कार्यक्रमहरू गरिएका छन् ।उक्त स्थानलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्य सहित हनुमान जी विशाल मूर्ति स्थापना गरिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।