कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने


     एभरेस्ट आवाज    
     वैशाख ८ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख ८

कास्कीको पातीखोला गुफाको संरक्षणका लागि महायज्ञ हुने भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर–४ र ५ को सिमानामा पर्ने गुप्तकालिकाका रुपमा पुजिदै आएको पातीखोला गुफा संरक्षणका लागि महायज्ञ गरिन लागेको हो । पातीखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ«े गाउँपालिकाको संरक्षकत्व तथा स्थानिय आमा समूह, टोल सुधार समिति, क्लव तथा सामाजिक संघसंस्थाहरुसँगको सामुहिक सहकार्यमा यहि बैशाख १७ गतेदेखि २४ गतेसम्म माछापुच्छ«े–४ लाहाचोकस्थित जोगीचौर मणि परिसरमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ–२०८३ गरिन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । महायज्ञको तयारी तिव्र रुपमा भइरहेको पातीखोला गुफा संरक्षण समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक क्याप्टेन डम्बरसिंह गुरुङले जानकारी दिए ।

पातीखोला गुफामा धार्मिक क्षेत्र पूर्वाधार विकास गर्ने उद्देश्यले महायज्ञ गरिन लागेको अध्यक्ष गुरुङले बताए । ‘ऐतिहासिक तथा धार्मिक पवित्र स्थलका रुपमा रहेको पातीखोला गुफामा पूर्वाधार निर्माण गरि पर्यटक आकर्षित गर्ने उद्देश्यले महायज्ञ गर्न लागेका हौं’–उनले भने ।

समुन्द्री सतहदेखि १ हजार १ सय मिटर उचाईमा रहेको यस गुफा पोखराको हरिचोकबाट केवल १० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । जहाँ आधा घण्टाको यात्राबाट पुग्न सकिने समितिका उपाध्यक्ष तथा महायज्ञ प्रचारप्रसार उपसमिति संयोजक यामबहादुर गुरुङले बताए । महायज्ञ अवधीभर पोखराको हरिचोक र माछापुच्छ«े गाउँपालिकाका सबै वडाबाट महायज्ञ स्थलसम्म आवतजावतका लागि निःशुल्क बस सेवा सञ्चालन हुने उनले जानकारी दिए । उनका अनुसार महायज्ञमा ५ हजारदेखि माथि दान गर्ने सबैलाई रकम हेरेर सो अनुसारको सम्मान गरिनेछ ।

गुफा करीब ५५ मिटर लामो रहेको समितिका सचिव रुद्रनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार गुफाबारे विभिन्न किम्वदन्ती रहेका छन् । पहिलोचाहिं देवी भगवतीले भैरवलाई संरक्षण गरेर राखेको किम्वदन्ती रहेको उनले बताए । उनका अनुसार देवी र भैरवबीच लामो समय द्वन्द्व चलिरहँदा देवी अचानक सो पातीखोला गुफामा तपस्या गर्न जाँदा भैरव पनि देवीको पिछा गर्दै जाने क्रममा देवी भक्त हनुमान सो गुफाको द्वारपाल भएर बसेका बेला हनुमान र भैरवबीच लडाईं भएपछि देवी गुफाबाट निकस्नेर भैरवको शीर छेदन गरेको र पछि भैरवले आफूले गल्ती गरेको भन्दै माफी मागेर आफूलाई पनि देवीसँगै राख्न अनुनय विनय गरेपछि देवीले भैरवलाई संरक्षण गरेको किम्वदन्ती छ । ‘जस अनुसार नै स्थानियले गुफा परिसरमा देवी र भैरवको मूर्ती राखेर हालसम्म पनि पुजा गर्दै आएका छन्’–उनले भने ।

अर्कोचाहिं कौरवहरुबाट बच्नका लागि पाण्डवहरु यहि पातीखोला गुफामा लुकेर बाँच्न सफल भएको किम्वदन्तीसमेत रहेको उनले बताए । गुफा कहिले पत्ता लाग्यो भन्ने यकिन रुपमा त भन्न सकिदैन,उनले भने,‘तर बाईसे, चौवीसे राज्यकालमा शिकारीहरु शिकार गर्दै जाँदा दुम्सी त्यस गुफामा लुक्न गएको र शिकारीहरु खोज्दै जाँदा गुफा भेटिएको भन्ने किम्वदन्ती सुनिन्छ ।’

पातीखोला गुफा परिसरमा वर्षमा ३ पटक धार्मिक मेला लाग्ने गरेको सचिव अधिकारीले जानकारी दिए । उनका अनुसार पातीखोला गुफा परिसरमा कुण्ड रहेकाले त्यहाँ वसन्त पञ्चमी र माघे सक्रान्तीमा कुण्ड स्नान गर्न जाने र मेला लाग्ने गरेको तथा चैतेदशैंमा देवीको पूजाआरधना गर्ने र मेला लाग्ने गरेको छ ।

महायज्ञ पातीखोला गुफाको संरक्षणमा कोशेढुंगा सावित हुने माछापुच्छ«े गाउँपालिकाका प्रवक्ता तथा माछापुच्छ«े–२ का वडाध्यक्ष गणेश आचार्यले बताए । ‘यसले समग्र माछापुच्छ«े गाउँपालिकाकै ब्राण्डिङ गर्न, पर्यटन प्रवद्र्दन गर्न पनि मद्दत पुग्छ’–उनले भने ।

माछापुच्छ«े–४ का वडाध्यक्ष मधुसुदन अधिकारीले महायज्ञले स्थानिय ठाउँहरुको प्रवद्र्दनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

महायज्ञबाट २ करोड आर्थिक संकलन गर्ने लक्ष्य राखिएको उपाध्यक्ष गुरुङले बताए । महायज्ञ सम्पन्न गर्न करीब ७ लाख खर्च हुने अनुमान गरिएको उनको भनाई छ । महायज्ञबाट संकलित रकम गुफामा पूर्वाधार विकास, सौन्दर्यकरणलगायतमा खर्च गरिने उनले प्रष्ट्याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।