महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा


     एभरेस्ट आवाज    
     वैशाख ११ गते २०८३ मा प्रकाशित




पोखराको घार्मीमा रहेको महेन्द्र माविले नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित सरोकारवालाको भेलामा विद्यालयले पठन पाठन सहित शैक्षिक योजना निर्माण गरेको विद्यालयका निमित्त प्रधानाध्यापक नन्दराज दाहालले जानकारी दिए । १९ नम्वर वडाका अध्यक्ष पुष्पेन्द्र पाण्डेले विद्यालयका शैक्षिक गतिविधीलाई निरन्तरता दिनुपर्ने बताउँदै, यसका लागि वडा शिक्षा समितिले आवश्यक समन्वय सहित तयारी गरेको बताए । उनले विपत व्यवस्थापन अन्र्तगत खानेपानी र शौचालय निर्माणका लागि बजेट विनियोजन गरेको जानकारी दिए । पुर्व वडाध्यक्ष एवं विद्यालयका सल्लाहकार संयोजक शोभामोहन पौडेलले विद्यालयमा विपन्न विद्यार्थीको लागि खाजा व्यवस्थापनमा सहयोग गर्ने बताए । उनले खाजा व्यवस्थापनका लागि बार्षिक व्ययभार व्यहोर्ने समेत बताए ।

निवर्तमान प्रधानाध्यापक बासुदेव पौडेलले विश्राम गृह निर्माण र पुरस्कार व्यवस्थापनका लागि स्रोत सुनिश्चीत गर्न भुमिका खेल्ने स्पष्ट पारे । भेलामा सल्लाहकार सदस्य राम प्रपन्नाचार्य ऋषि गुरुले विद्यालयमा खानेपानीका लागि ट्यांकी उपलब्ध गराउने प्रतिबद्धता जनाए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ लामिछानेले विद्यालयको आर्थिक स्रोत व्यवस्थापन, जन्मोत्सव कोष र शैक्षिक विकासका लागि बिभिन्न कार्य योजना प्रस्तुत गरेका छन् । उनले सबै पक्षको समन्वयबाट मात्रै विद्यालयको व्यवस्थित विकास गर्न सकिने बताउँदै, सहयोगको अपेक्षा गरे ।

भेलामा विद्यालय व्यवस्थापन समिति,सल्लाहकार, शिक्षक अभिभावक संघ तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।