पोखरा बसपार्कका सुकुम्बासी : विकल्प नदिएसम्म हट्दैनौं, जबरजस्ती गरे आईलाग्नेमाथि जाईलाग्छौं


     एभरेस्ट आवाज    
     वैशाख २० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, बैशाख २०

पोखरा बसपार्कका सुकुम्बासीले वैकल्पिक व्यवस्था गरिदिए अहिले बसिरहेको ठाउँ खाली गर्न तयार रहेको बताएका छन् । पोखरा बसपार्कका सुकुम्बासीहरुले हालै गठन गरेको भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले वैकल्पिक व्यवस्था गरेको खण्डमा सुकुम्बासी बस्ती खाली गर्न आफूहरु तयार रहेको बताए । तर वैकल्पिक व्यवस्था नभएसम्म भने कुनै पनि हालतमा ठाउँ खाली नगर्ने अडान उनीहरुको छ ।

पोखरा महानगरपालिकाले सो बसपार्क क्षेत्रमा बसेका सुकुम्बासीहरुलाई ठाउँ खाली गर्न ३५ दिने सूचना निकालेको छ । सूचना निकालेको तेस्रो हप्ता चलिरहँदा उनीहरुमा त्रास र चिन्ता बढ्दो छ । छाडेर हिंड्दा वैकल्पिक व्यवस्था नभएको, नछाड्दा डोजरले भत्काए कहाँ जाने भन्ने चिन्ता रहेको उनीहरु बताउँछन् । त्यसैले उनीहरुमध्ये कोहि अहिले विलौना गरिरहेका छन् भने कोहि आक्रोष व्यक्त गरिरहेका छन् ।

पोखरा–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जमिन अधिग्रहण गरिएको थियो । सो जग्गामा पछि सुकुम्बासीहरु आएर बसेका थिए । पुरानो पोखरा एयरपोर्ट बन्ने क्रममा १३ परिवारलाईसमेत त्यहिं स्थानान्तरण गरिएको बताईन्छ । केहि जग्गा भने दुषित रुपमा दर्ता गरेर व्यक्तिले हडपेको स्थानियको दाबी छ । सुकुम्बासीहरु आफूहरुलाई हटाउनुपूर्व दुषित जग्गा दर्ता गर्नेको घरमा डोजर लाग्नुपर्ने बताउँछन् । महानगरले २०५ रोपनीमध्ये १४८ रोपनीमा मात्रै बसपार्क बनाउने तयारी गरेको उनीहरुको आशंका छ । व्यक्तिले दुषित रुपमा दर्ता गरेको जग्गामा पनि डोजर लगाए र आफूहरुलाई वैकल्पिक व्यवस्था गरे आफूहरु हट्न तयार रहेको उनीहरुको भनाई छ ।

पोखरा महानगरपालिका वडा नम्बर–९ भित्र कुनै पनि ठाउँमा वैकल्पिक व्यवस्था गरे आफूहरु ठाउँ खाली गर्न तयार रहेको समितिका अध्यक्ष प्रेम गुरुङले बताए । हामीलाई यहिं बस्न दिनुपर्छ भन्ने पक्षमा हामी पनि छैनौं,उनले भने,‘तर विकल्प त दिनु पर्यो नि ! पोखरा–९ को कुनै पनि ठाउँमा व्यवस्थापन गरे हामी हाँसीहाँसी अहिलेको ठाउँ खाली गर्छौं ।’ तर सरकारले वैकल्पिक व्यवस्था नगरे आफूहरुले अहिलेको ठाउँ खाली नगर्ने उनले अडान व्यक्त गरे । भने,‘वैकल्पिक व्यवस्था नगरेसम्म छाड्दैनौं । बरु आन्दोलनमा जान्छौं ।’ त्यतिमात्र होईन पोखरा बसपार्क कस्तो बन्ने, कति क्षेत्रफलमा बन्ने, सुकुम्बासीले मात्रै छाड्नुपर्ने हो कि दुषित जग्गा दर्ता गर्नेहरुलाई पनि हटाईने हो ? त्यसले आफूहरुको आन्दोलन निर्धारण हुने उनको भनाई छ ।

समितिका सल्लाहकार ओमबहादुर पौडेलले भूमिहीन तथा सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गर्नु राज्यको दायित्व भएको बताए । तर राज्य गैरजिम्मेवार बनेर डोजर आतंक सिर्जना गर्दै भुमिहीन तथा सुकुम्बासीलाई मर्न बाध्य बनाएको उनको आरोप छ । बालेन सरकारलाई हत्यारा सरकार भन्दै उनले भने,‘आज वर्षौंदेखि बस्दै आएको थातथलोमा डोजर लगाउँदा सहन नसकेर मान्छे आत्महत्या गरिरहेका छन् । यो सरकार हत्यारा हो । हत्याको जिम्मा सरकारले लिनुपर्छ ।’ सरकारले सुकुम्बासीलाई राज्यले गैरनागरिकजस्तो व्यवहार गरेको भन्दै उनले त्यस्तो व्यवहार नगर्न चेतावनी दिए ।

सुकुम्बासी तथा मजदुर नेता अर्जुन मल्लले वैकल्पिक व्यवस्था गरेर समस्याको समाधान खोज्नुपर्ने बताए । अन्यथा आन्दोलन गर्नुको विकल्प नभएको उनको भनाई छ । सरकार डोजर चलाउने निर्णयबाट पछि हटोस्,उनले भने,‘होईन जबरजस्ती डोजर चलाए त्यसको प्रतिरोध गर्छौं । आईलाग्नेलाई जाईलाग्छौं ।’

आईतबार पत्रकार सम्मेलन गरेको संघर्ष समितिले सोमबार प्रमुख जिल्ला अधिकारी र पोखरा महानगरपालिकाका प्रमुखलाई ज्ञापन पत्र बुझाउने भएको छ । सहिदचोकमा भेला भएर प्रमुख जिल्ला अधिकारीको पुगेर ज्ञापन पत्र बुझाउने र त्यसपछि र्यालीसहित रत्नचोक, सिर्जनाचोक, पृथ्वीचोकहुँदै नयाबजारस्थित पोखरा महानगर प्रमुख धनराज आचार्यको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाईने संघर्ष समितिका संयोजक गुरुङले जानकारी दिए । त्यसपछि बैठक बसेर थप निर्णय गर्ने उनले बताए ।

संघर्ष समितिका सल्लाहकार ओमबहादुर पौडेलले भने आन्दोलन कडा गर्ने चेतावनी दिए । शुरुमा शान्तिपूर्ण भए पनि पछि आफूहरुको माग सम्बोधन नभए चक्काजामदेखि नेपाल बन्दसम्मको आन्दोनलन गर्ने उनको चेतावनी थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।