पोखरा । पोखरा – ७ मासबारमा अवश्थित चिल्ड्रेन–नेपालद्वारा आर्थिक वर्ष २०८१/०८२ मा संचालित परियोजना गतिबिधिहरुको सामाजिक परीक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सामाजिक परीक्षणलाई संस्थागत सुशासनका लागि प्रभावकारी अभ्यास भएको उल्लेख गर्दै यसले वार्षिक गतिविधि, आर्थिक अवस्था, प्रभावकारिता, जवाफदेहिता, समावेशिता र पारदर्शिताको मूल्याङ्कन गर्ने बताउनुभयो। यस्ता अभ्यास सबै संस्थाले अपनाउनुपर्ने भए पनि केही संस्थाले मात्र नियमित रूपमा गर्ने गरेको उल्लेख गर्दै चिल्ड्रेन–नेपाललाई बधाई दिनुभयो।
बिशेष अतिथि वडा नं. ७ का अध्यक्ष राममोहन आचार्यले सामाजिक परीक्षणले “इन्डोस्कोपीले जस्तै स्पष्टता दिएको” भन्दै प्रशंसा गर्नुभयो। आफ्नो वडामा मुख्य कार्यालय रहेको यस संस्थाले बहुआयामिक परियोजना सञ्चालन गरी समुदायमा सकारात्मक प्रभाव पारेको उहाँको भनाइ थियो। आगामि दिनमा संस्थासँग सहकार्य गर्न आफू तयार रहेको उहाँतो बाचा थियो ।
लाभग्राही विद्यार्थी केरिश्का नेपालीले संस्थाबाट प्राप्त तालिम र सहयोगले आफूमा क्षमता वृद्धि भएको बताउनुभयो। गैरसरकारी संस्था महासंघ कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले संस्थाको बहुआयामिक कार्यको सराहना गर्दै सामाजिक परीक्षण प्रभावकारी रहेको बताउनुभयो। सहारा बाल आधारभूत विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले सामाजिक परीक्षणलाई “सिटी स्क्यान जस्तै स्पष्ट” भएको उल्लेख गर्नुभयो।
मानव अधिकार अधिकृत टंक खनालले कार्यक्रम प्रभावकारी र जीवन्त रहेको प्रतिक्रिया दिँदै संस्थाको आत्मनिर्भरतातर्फको प्रयास सराहनीय भएको बताउनुभयो। अध्यक्ष शान्त पौडेलले सामाजिक परीक्षणको क्रममा फ्लोरबाट सवाल नउठेकोले संस्थाले अपेक्षित काम गरिरहेको पुष्टि भएको उल्लेख गर्नुभयो।
कार्यक्रम संयोजक रमेश सुबेदीले संचालन गर्नु भएको कार्यक्रममा सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठको प्रारम्भिक प्रस्तुति पश्चात् फ्लोर खुला गरिए पनि सहभागीबाट थप जिज्ञासा वा टिप्पणी नआएको कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो।
परियोजनाहरु :
संस्थाले बालबालिका, युवा तथा परिवार सशक्तिकरण परियेजना मार्फत समुदायमा सामाजिक रूपान्तरणको आधार तयार गरेको छ। सिकाइ स्रोत केन्द्रमार्फत कम्प्युटर शिक्षा, पुस्तकालय सेवा र समावेशी सिकाइ वातावरण विकास गरिएको छ। इको सेन्टरमार्फत अर्गानिक कृषि प्रवर्द्धन, वातावरण संरक्षण र व्यवहारिक तालिम सञ्चालन हुँदै आएको छ। समुदाय परिचालनसँगै पोषण तथा जलवायु उत्थानशील परियोजनाहरू कार्यान्वयन गरी दिगो विकासमा योगदान गरिएको छ। त्यसैगरी सूर्यमुखी हस्तकलामार्फत सिप विकास र रोजगार सिर्जना गरिएको छ भने संस्थागत विकास अन्तर्गत तालिम, कार्यशाला र सचिवालय सञ्चालनमार्फत संस्थाको समग्र क्षमता सुदृढ गरिएको छ।
कार्यक्षेत्र :
संस्थाले कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र लमजुङ जिल्लामा कार्य गर्दै आएको छ। अन्नपूर्ण, पोखरा महानगर, म्याग्दे र मोदी गाउँपालिकामा विद्यालय तथा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन भइरहेका छन्।
प्रमुख उपलब्धि :
संस्थाका कार्यक्रमबाट कूल ७९,९२७ जना प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। ४३३ बालबालिकालाई छात्रवृत्ति प्रदान गरिएको छ भने विद्यालय उपस्थित दर ९८.५% कायम रहेको छ।
२३० बालबालिकामा डिजिटल साक्षरता विकास भएको छ भने १२२० बालबालिकामा बालअधिकार, पोषण र जलवायु शिक्षा विस्तार गरिएको छ। १२ बाल क्लब गठन गरी नेतृत्व विकास गरिएको छ।
स्वास्थ्य क्षेत्रमा १७६ परिवारका ७६४ सदस्य स्वास्थ्य बीमामा आबद्ध भएका छन्। मनिपाल शिक्षण अस्पताल, फेवासिटी हस्पिटल र लाइफ केयर सेन्टरसँग सहकार्य गरी उपचारमा छुट सुविधा प्रदान गरिएको छ।
“एक घर एक करेसाबारी” अभियानमार्फत ११४५ घरपरिवारमा अर्गानिक खेती विस्तार भएको छ भने ८ विद्यालयमा हरित विद्यालय स्थापना गरिएको छ।
सूर्यमुखी हस्तकलामार्फत १४ महिलालाई रोजगार सिर्जना भई १७,२७० वस्तु उत्पादन गरिएको छ। सहकारीमार्फत रु. ३३,८१,३५० संकलन भएको छ।
संस्थाको कार्यसमिति ११ सदस्यीय रहेको छ, जसमा महिला ३ जना छन्। संस्थामा करिब १७ जना कर्मचारी तथा सामाजिक कार्यकर्ता कार्यरत छन्, जसमा महिला ८ जना छन्।
आर्थिक स्थिति :
आर्थिक वर्ष २०८१/०८२ मा संस्थाको कुल आम्दानी रु. २,८९,५१,२२१.९८ रहेको छ, जसमा आन्तरिक स्रोतबाट रु. १,१५,३०,५३२.०४ (४०%) र बाह्य स्रोतबाट रु. १,७४,२०,६८९.९४ (६०%) प्राप्त भएको छ।यसै अवधिमा कुल खर्च रु. ३,३०,०१,८३०.७१ भएको छ।यसले संस्थाको आम्दानी संरचनामा आन्तरिक स्रोतको उल्लेखनीय योगदान रहेको देखाउँछ।
सामाजिक परीक्षक दीपेन्द्र श्रेष्ठले संस्थाका गतिविधिहरूलाई बहुआयामिक, प्रभावकारी र समुदायकेन्द्रित रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार चिल्ड्रेन–नेपालले शिक्षा, बालअधिकार, स्वास्थ्य, जीविकोपार्जन, वातावरण संरक्षण र जलवायु उत्थानशीलताका क्षेत्रमा निरन्तर रूपमा परिणाममुखी कार्यक्रम सञ्चालन गरेको देखिन्छ।
उहाँले विशेष गरी छात्रवृत्ति, सिकाइ स्रोत केन्द्र, विद्यालय सहयोग तथा बाल क्लब गतिविधिहरूले बालबालिकाको शिक्षा पहुँच र नेतृत्व विकासमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। साथै इको सेन्टरमार्फत अर्गानिक कृषि प्रवर्द्धन र “एक घर एक करेसाबारी” अभियानले समुदायमा व्यवहारिक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो।
त्यसैगरी सूर्यमुखी हस्तकला कार्यक्रममार्फत महिला सशक्तिकरण र रोजगारी सिर्जना भएको, स्वास्थ्य बीमा तथा स्वास्थ्य सेवा सहकार्यले विपन्न परिवारको स्वास्थ्य पहुँच विस्तार गरेको र जलवायु उत्थानशील समुदाय विकास कार्यक्रमले स्थानीय स्तरमा चेतना र व्यवहार परिवर्तनमा योगदान पुर्याएको उहाँको निष्कर्ष थियो।
समग्रमा, सामाजिक परीक्षक श्रेष्ठले संस्थाका गतिविधिहरूलाई प्रभावकारी, पारदर्शी र समुदायमा प्रत्यक्ष प्रभाव पार्ने खालका रहेको उल्लेख गर्दै सरोकारवालाहरूको सहभागिता र प्रतिक्रिया समेत सकारात्मक रहेको निष्कर्ष प्रस्तुत गर्नुभएको छ।
सामाजिक परीक्षणले चिल्ड्रेन–नेपालको कार्यक्रम प्रभावकारिता, पारदर्शिता र संस्थागत सुशासन पुष्टि गरेको सहभागिले बताए । शिक्षा, स्वास्थ्य, जीविका, जलवायु र सामाजिक सशक्तिकरणका क्षेत्रमा संस्थाले उल्लेखनीय प्रभाव पारेको निष्कर्ष निकालिएको छ।



सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


बैशाख १९ पोखरा पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न…






