मितेरी सहरबाट उपहार पाएको अत्याधुनिक एम्बुलेन्स साढे ३ वर्षपछि पोखरा आईपुग्यो


     एभरेस्ट आवाज    
     जेठ ४ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा ल्याएको छ। करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका ती सामग्री २०७९ सालमै नेपाल आइपुगेका थिए। तर कानुनी जटिलता, भन्सार छुटको सीमा र प्रशासनिक प्रक्रियाका कारण रसुवा–केरुङ नाकामै रोकिए। लामो पहलपछि मात्रै ती सामग्री पोखरा भित्रिएका हुन्।

लिञ्जीले पोखरालाई अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत सामग्री उपहार दिएको थियो। पोखराका मेयर धनराज आचार्य नेतृत्वको टोली २०७९ सालमा चीन भ्रमणमा गएका बेला लिञ्जीमा आयोजित कार्यक्रममा सहभागी भएको थियो। त्यही अवसरमा मितेरी सहरले पोखरालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो। मेयर आचार्यका अनुसार सामग्री नेपाल आइपुगेपछि भन्सार छुटको सीमा ठूलो बाधा बन्यो। “भन्सार छुटको सीमा १६ लाख रुपैयाँ मात्र रहेछ। सामग्रीको मूल्य भने करोडौंमा थियो,” उनले भने, “त्यही कारण प्रक्रिया अघि बढ्न सकेन।” उनका अनुसार पटक–पटकको समन्वय र पहलपछि गत वर्ष बजेटमार्फत भन्सार छुटको बाटो खुलेको हो। तत्कालीन अर्थमन्त्री विष्णु पौडेलसँग छलफलपछि प्रक्रिया सहज बनेको उनले बताए।

यसबीच महानगरपालिकामा भएको आगलागीले सामग्रीसँग सम्बन्धित कागजात नष्ट भएपछि प्रक्रिया झन् लम्बिएको थियो। पछि पुनः कागजात तयार गरेर सामग्री छुटाइएको महानगरले जनाएको छ। आचार्यले सामग्री पोखरा आइपुग्नु स्वास्थ्य उपकरण प्राप्तिको विषय मात्र नभई दुई सहरबीचको मित्रताको सम्मान भएको बताए। “यी सामग्री पोखरा आइपुग्दा नागरिकप्रतिको दायित्व पूरा भएको अनुभूति भएको छ,” उनले भने। उनले चीनका समकक्षी मेयरले बेला–बेला एम्बुलेन्सको अवस्थाबारे सोध्ने गरेको स्मरण पनि गरे। “एम्बुलेन्सको पर्फर्मेन्स कस्तो छ भनेर सोध्दा अप्ठ्यारो लाग्थ्यो,” उनले भने, “किनकि सामान नै पोखरा आएको थिएन।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।