ओटेफको आयोजनामा महिला पर्यटन व्यवसायीलाई स्वास्थ्य सचेतना


     एभरेस्ट आवाज    
     जेठ १७ गते २०८३ मा प्रकाशित




पोखरा ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)मा आबद्ध महिला पर्यटन व्यवसायीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महिला पर्यटन व्यवसायीहरुका लागि एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । ओटेफले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको कार्यक्रममा कास्की सेवा हस्पिटलका निर्देशक डा. सरिता गुरुङले महिलाहरुमा हुने महिनावारी, पाठेघर र स्तन क्यान्सरको बारेमा सचेतनामूलक प्रस्तुती दिईन् । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हरेक वर्ष दुई हजार महिलाले ज्यान गुमाउने गरेको तथ्यांक प्रश्तुत गर्दै गर्दै सचेत भएमा यसबाट जोगिन सकिने बताईन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांक अनुसार नेपालमा एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघर मुखको क्यान्सर हुने गरेको उनले तथ्यांक देखाइन् ।

उनले स्तन क्यान्सर महिला, पुरुष जोसुकैलाई पनि हुनसक्ने बताउँदै। स्तन परीक्षण सम्बन्धी जानकारी भएमा स्तन क्यान्सरबाट बच्न सकिने जानकारी दिइन् । त्यसैगरी महिनावारी हुँदा अपनाउने सरसफाइ लगायतका विषयमा उनले जानकारी दिएकी थिइन् । सचेत भए विभिन्न रोगबाट बच्न सकिने उनको भनाई थियो ।

ओटेफका अध्यक्ष ममता न्यौपानेले पर्यटन प्रबद्धनात्मक कार्यक्रमसहित महिला पर्यटन व्यवसायीहरुको हित, अधिकार र सचेतनाका लागि विभिन्न कार्यक्रम आफूहरुले गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा कोपिला नेपालका कार्यकारी निर्देशक विना सिलवाल, संस्थापक अध्यक्ष एवं सल्लाहकार जमुना पराजुली, सल्लाहकार एवं नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव जमुना वर्षा शर्मा लगायतले महिला अधिकार र स्वास्थ्य सम्बन्धि विविध जानकारी गराएका थिए । कार्यक्रममा कार्यक्रम संयोजक सुशीला भण्डारी र महासचिव भावना रानाभाट लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।