सन्देश श्रेष्ठ
पोखरा, जेठ २०
गण्डकी प्रदेशका एक सचिवले बलात्कारीलाई फासीको सजाय गर्ने व्यवस्था गर्न माग गरेका छन् । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा संघीय सरकार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बुधबार पोखरामा आयोजित ‘लैंगिक समानता नीतिलगायत मन्त्रालयबाट सञ्चालित कार्यक्रमहरुको अभिमुखीकरण’ कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले नेपालमा बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था गर्न माग गरेका हुन् ।

नेपालमा कुनै पनि अपराध गर्नेलाई फासीको सजाय हुने व्यवस्था छैन । नेपालको संविधान र कानून फासीको सजायबिरुद्ध उभिएको छ । त्यतिमात्र होईन नेपालले राष्ट्रसंघलगायतका विभिन्न अन्र्तराष्ट्रिय संघसंस्थाहरुमा फासीको सजाय नदिने महासन्धीहरुमा हस्ताक्षरसमेत गरिसकेको छ । यस्तो अवस्थामा कानूनको पालना गर्ने, गराउने नेतृत्व तहमा रहेका प्रदेश सचिवले देशले गरेको प्रतिबद्धता र देशको कानून विपरित बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै उनले कानून सम्झेर बलात्कारीले बलात्कार गर्नेबारे सोंच्न पनि नसक्ने वातावरण बनाउनुपर्ने बताए । ‘अहिले बलियो सरकार छ क्यारे, यतातिर पनि सोंचोस्, म यो आग्रह गर्दछु ।’
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले बलात्कारीलाई फासीको सजाय नहुँदा यस्ता घटना दिनहुँ दोहोरिन थालेको बताए । बलात्कारीलाई फासीको सजाय दिने प्रावधान अन्य देशमा पनि छ,उनले भने,‘नेपालमा पनि बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था गर्नुपर्छ ।’ बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था राख्ने हो भने बलात्कारका घटना घट्ने उनको दाबी छ । कडा कानून्को अभावमा बलात्कारीको मनोबल बढेको छ,उनले थपे,‘हामी भावनामा बगेर हुँदैन, अण्डा नफुटाएसम्म अम्लेट बन्दैन नि ! अण्डा पनि नफुटाल्दिनु भन्ने, अनि अम्लेट पनि खान्छु भनेर हुन्छ ? कडा कानून् ल्याउनुपर्छ ।’
सचिव पौडेलले विदेशीको ईशारामा नेपालमा बलात्कारीलाई फासीको सजाय नहुने व्यवस्था बनेको टिप्पणी गरे । उनीहरुले आफ्नो देशमाचाहिं बलात्कारलगायतका घटनाका दोषीलाई फासीको सजाय हुने व्यवस्था गरेका छन्,उनले थपे,‘नेपालमा भने मानव अधिकारलगायत देखाएर फासीको सजाय नहुने व्यवस्था गराएका छन् ।’
कार्यक्रममा कन्भेन्सन अफ द ईलिमिनेसन अफ अल फम्र्स अफ डिस्क्रिमिनेसन अगेन्स्ट वीमन ‘सीड’का सदस्य बन्दना राणाले फासीको सजाय हुने व्यवस्था ल्याई हाल्न हतार हुने टिप्पणी गरिन् । सोहि कार्यक्रममा सहभागी उनले पत्रकारसँग कुरा गर्दै फासीको सजाय हुने व्यवस्था ल्याउँदा त्यसले दीर्घकालीन समस्या ल्याउँछ कि ल्याउँदैन भन्नेबारेमा सोंच्नुपर्ने बताईन् । कानून् पालना गराउने उच्च तहका अधिकारीले नै कानून विपरित बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था बनाउनुपर्ने बताएकोप्रति आश्चर्य मान्दै उनले भनिन्,‘यो आक्रोषमा आउने अभिव्यक्ति मात्र हो । दिर्घकालमा यसले के समस्या ल्याउँछ ? भन्नेबारेमा पनि मन्थन हुनुपर्छ, मलाई लाग्छ यो दीर्घकालीन समाधान होईन ।’
राणाले सिडले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद उन्मूलन हुनुपर्नेमा जोड दिएको प्रष्ट्याईन् । महिलामाथि हुने हिंसा र विभेदबिरुद्ध नेपालको कानून दक्षिण एसियामै राम्रो भएको उनले बताईन् । तर कार्यान्वयन ? उनले भनिन्,‘कागजमा मात्र सिमित छ । कार्यान्वयन छैन, त्यसैले कानून र कागजमा हुँदैमा पहुँच पुग्छ भन्न सकिदैन ।’
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव आभा श्रेष्ठ कर्णले गण्डकी प्रदेशका सबै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुलाई अभिमुखीकरण गर्ने उद्देश्यले कार्यक्रम राखिएको स्पष्ट पारिन् । उनले महिलामाथि हुने विभेद र हिंसा न्यूनिकरणका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक रहेको बताईन् । उनले भनिन्,‘हामीले मिलेर ग¥यौं भने विभेद र हिंसा कम गर्न सक्छौं, त्यसैले हातेमालो गरौं ।’
मन्त्रालयकी सहसचिव ईन्दिरा आचार्यले महिलामाथि हुने विभेद र हिंसाका हानिकारक अभ्यासहरु जरैदेखि फाल्नुपर्नेमा जोड दिईन् । उनले जुनसुकै सरकारले योजना तर्जुमा गर्दा, बजेट बनाउँदादेखि कानून बनाउँदासम्म लैंगिक उत्तरदायी र समावेशी बनाउनुपर्ने बताईन् । त्यसका लागि पनि अभिमुखीकरण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिन् ।
अभिमुखीकरणमा गण्डकी प्रदेशका ८५ वटै स्थानिय तहका उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ २० कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजित अन्नपूर्ण म्याराथन प्रतियोगितामा…








