नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम, मन्त्रालयमै डेरा सरे मन्त्री पुन


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०८३ मा प्रकाशित




नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ ।

नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् ।मन्त्रालयलाई नै आफ्नो अस्थायी आवास बनाउने योजना अनुरुप उनी आफ्ना बन्दोबस्तीका सामानसहित आज सिंहदरबारस्थित मन्त्रालयमा डेरा सरेका हुन् । उनी आज बिहानै आफ्नो बन्दोबस्तिका सामानसहित मन्त्रालय डेरा सरेका छन् । उनले ४,५ वटा ब्याग र एउटा कार्टुन ल्याएका छन् । भैसेपाटीस्थित मन्त्री क्वाटरहरु जेनजी आन्दोलनमा जलेकाले अहिले सरकारले मन्त्रीहरूलाई आवास व्यवस्था गर्न सकेको छैन ।

मन्त्रालयका सचिवका रूपमा इञ्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिनअघि जिम्मेवारी पाएकी थिईन् । सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरू गरेको जानकारी दिईन् । मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहालीपश्चात् मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने निर्णय गरेका छन् । सचिव बज्राचार्यले मन्त्री पुनले भने झैँ आफूहरूले शून्यबाट सुरु गरेको बताउँदै मन्त्रालयको वेबसाइटको नमुना तयार गरेर सूचना प्रविधि विभागलाई दिइसकिएकाले प्रणालीगत कारणले ७२ घण्टापछि अपलोड हुने जानकारी आएको बताईन् ।

नवप्रवर्तन मन्त्रालयमा हाल दरबन्दी २४ जना कर्मचारीले काम गर्दैछन् भने नयाँ सङ्गठन संरचना बनेपछि सङ्ख्या बढ्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।