गण्डकीको बजेट ३३ अर्ब,पहिला घरदेश, अनि परदेश र लेक टु लेक कार्यक्रमलाई निरन्तरता


     एभरेस्ट आवाज    
     असार १ गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

यो चालु आर्थिक वर्षको भन्दा १ अर्ब १ करोड ९९ लाख १ हजार बढी हो । चालु आर्थिक वर्षमा ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट कार्यान्वयन भइरहेको छ ।गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात कुल बजेटको ३८.५६ प्रतिशत बजेट विनियोजन भएको छ । यो अघिल्लो वर्षको भन्दा १ प्रतिशत कम हो । त्यस्तै, पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात कुल बजेटको ६०.६८ प्रतिशत बजेट विनियोजन भएको छ । यो अघिल्लो वर्षको पुँजीगत बजेट भन्दा १ प्रतिशत बढी हो । त्यस्तै, वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल बजेटको ०.७६ प्रतिशत बजेट विनियोजन गरिएको अर्थमन्त्री शेरचनले बताए ।

बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान ७ अर्ब ८४ करोड ८२ लाख हुने उल्लेख छ । यसैगरी राजस्व बाँडफाँटबाट प्राप्त हुने १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख, रोयल्टी बाँडफाँटबाट प्राप्‍त हुने ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड ३ लाख, विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख प्राप्त हुने जनाइएको छ ।त्यस्तै, आन्तरिक राजस्वबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने अनुमान गरिएको बजेटमा उल्लेख छ । त्यस्तै, चालु आर्थिक वर्षबाट खर्च हुन नसकेको २ अर्ब नगद मौज्दात रहने आर्थिक मामिला मन्त्री शेरचनले अनुमान गरे ।गण्डकी प्रदेश सरकारले १ अर्ब ७५ करोड घाटा बजेट ल्याएको छ । जुन आन्तरिक ऋणबाट पूर्ती गरिने उनले बताए ।बजेटमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सम्बद्ध कार्यक्रमका लागि ११ अर्ब ९६ करोड, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयका कार्यक्रमहरुका लागि ४ अर्ब ७७ करोड, सामाजिक विकास तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब १६ करोड, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ३१ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, वन तथा वातावरण मन्त्रालय अन्तर्गतका लागि १ अर्ब २१ करोड, उद्योग तथा पर्यटनका लागि २ अर्ब, कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई २ अर्ब बजेट विनियोजन गरिएको छ ।गण्डकी प्रदेश सरकारले घरदेश, अनि परदेश र लेक टु लेक कार्यक्रमलाई निरन्तरता दिएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८३÷८४को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले यी दुई कार्यक्रमलाई निरन्तरता दिदै बजेट विनियोजन गरेको बताए ।

यसले आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई स्थानिय कला, संस्कृति, परम्परा र उत्पादनमा बृद्धि भई आयआर्जनमासमेत बृद्धि ल्याउने अपेक्षा रहेको उनले बताए ।बजेटमा पर्यटन क्षेत्रको पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नती र पर्यटनमैत्री सेवाको विकास, बिस्तारमा जोडसमेत जोड दिईने उल्लेख छ ।पर्यटन प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता । गण्डकी प्रदेश जाऔं, प्रकृति र संस्कृतिमा रमाऔं अभियानलाई थप सुदृढ बनाउँदै पोखरालाई माईस स्वास्थ्य, खेलकुद तथा साहसिक खेल पर्यटनको केन्द्रका रुपमा विकास गर्ने ।गण्डकी प्रदेशले कृषिलाई प्राथमिकता दिदै बजेट ल्याएको छ । गण्डकी प्रदेशको आर्थिक वर्ष २०८३÷८४को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले कृषि, भूमि व्यवस्था तथा सहकारीका लागि २ अर्ब बजेट विनियोजन गरेको बताए ।

उनले बजेट कृषिलाई व्यवसायीक कृषितर्फ आकर्षित गर्न रिटर्न टु भिलेज अभियान सञ्चालन गर्ने, पशुपालनतर्फ व्यवसायीकरण गर्ने, बधशाला निर्माण गर्ने, मासु प्रशोधन केन्द्र स्थापना गर्ने, सहकारीको बचत सुरक्षित गर्दै सहकारीको प्रवद्र्धन गर्ने नीति लिईने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।